आज सर्वदलीय बैठक, केपी ओलीले के गर्लान् ? यस्तो छ जवाफ
काठमाडौँ – संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलिय बैठक बोलाएका छन् । आज बिहान १० बजे बालुवाटारमा सर्वदलीय बैठक बस्दै छ र
प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने–नहुने निश्चित छैन ।
बिहीबारको सर्वदलीय बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निमन्त्रणा गरिएको बालुवाटार स्रोतले बतायो ।
प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी हुने–नहुने निश्चित छैन । यसअघि सभामुखले आयोजना गरेको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको थियो ।
आफूहरुले कारवाही गरेका माधव कुमार नेपाल बैठकमा सहभागी भएको भन्दै एमालेले सभामुखद्वारा बोलाइएको सर्वदलीय बैठक बहिस्कार गरेको हो । साथै आफूहरुले सभामुखको निर्णयमा आपत्ति जनाएर संसद अवरुद्ध गरेको हुनाले सभामुखको निम्तो अस्वीकार गरिएको एमाले नेताहरुले बताएका थिए ।
नेकपा एमालेले माधव नेपालहरुमाथिको कारवाहीको सूचना सभामुखले नटाँसेसम्म संसद अवरुद्ध गर्ने बताउँदै आएको छ । शुक्रबारको बैठक पनि अवरुद्ध पार्ने एमालेको तयारीको छ ।
सत्तापक्षले भने एमालेले माग गरे वमोजिम राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिइसकेको हुनाले संसदको अवरोध खोल्न प्रतिपक्षलाई आग्रह गर्ने तयारी गरेको छ । त्यसैका लागि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक राखेको काँग्रेस नेताहरु बताउँछन् ।
तर, प्रधानमन्त्री देउवाले बोलाएको बैठकमा एमाले नेताहरु सहभागी हुने, नहुने बिहीबार बिहानसम्म स्पष्ट भइसकेको छैन । ‘बैठकमा जानेबारे अध्यक्षज्यूबाट कुनै खबर आइसकेको छैन’ एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘खबर आउला, अध्यक्षबाट जस्तो निर्देशन आउँछ, एमाले सोहीअनुसार अगाडि बढ्छ ।’
बिहान बालुवाटारको सर्वदलीय बैठक सकिएपछि दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । संसद बैठक सकिएपछि अपरान्ह सत्ता गठबन्धन दलहरुले मन्त्रिमण्डल विस्तारका लागि बालुवाटारमा छलफल गर्ने कार्यसूची छ ।
प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा माधव नेपाल भने उपस्थित नहुने स्रोतले बतायो । बिरामी भएका कारण नेता नेपाल बैठकमा नआउने भएका हुन् । नेता नेपालको अनुपस्थितिले एमाले अध्यक्ष ओलीलाई बालुवाटार जान सहज हुने सत्तापक्षका नेताहरु बताउँछन् ।
भाइरल ज्वरोका कारण बिरामी परेका नेता नेपाल बुधबार साँझ शिक्षण अस्पतालमा भर्ना भएका छन् । उनको अवस्था सामान्य नै रहेको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले बताए ।
प्रधानमन्त्रीले देउवाले आयोजना गरेको दलहरूको बैठकमा सभामुख अग्नि सापकोटा पनि नजाने भएका कारण ओलीले यो बैठकमा भाग लिने काँग्रेस नेताको अपेक्षा देखिन्छ ।
यसैबीच, प्रधानमन्त्री देउवाले शुक्रबार बिहान १० बजेका लागि सर्वदलीय बैठक राखेकै समय पारेर एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वमाओवादी नेता प्रभु साहलाई बिहान १० बजे नै बालकोटमा बोलाएका छन् ।
साह एमालेमा असन्तुष्ट रहँदै आएकाले छलफल गर्न ओलीले उनलाई बालकोट बोलाएको एमालेका एक नेताले जानकारी दिए ।