एमालेको धम्की पछि गृहमन्त्रालय पछि हट्यो, काठमााडौँका सीडीओ तनावमा
काठमाडौँ – नेकपा एमालेको पहिलो विद्यान महाधिवेशन ललितपुरमा हुँदैछ । ६ हजार बढि सहभागी हुने उक्त सम्मेलनले नेकपा एमालेको भावी रणनीति तय गर्ने छ ।
गोदावरीमा रहेको नवनिर्मित सनराइज हलमा सम्मेलन हुँदैछ । उक्त सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ ।
उक्त सम्मेलनलाई लक्षितगरी जिल्ला प्रशासन कार्यालय काठमाडौँ र ललितपुरले सूचना निकालेर भेला सम्मेलन नगर्न निर्देशन दिएको थियो । उत्तः निर्देशनको नेकपा एमालेले चर्को विरोध गरेको थियो ।
एमाले नेता रामबहादुर थापाले भेला सम्मेलन गर्न रोक लगाउनु राजनीतिक निर्णय भएको भन्दै यसलाई सच्याउन चेतावनी दिएका थिए । उक्त निर्देशन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको उनको भनाई थियो ।
यो विषयमा गृहमन्त्रालयले मुख खोलेको छ ।
सरकारले संविधान, प्रचलित कानून र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने कुनै आदेश र उद्देश्य नभएको मन्त्रालयले स्पष्ट पारेको छ ।
गृह मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै, ‘नेपालको संविधान, प्रचलित कानून र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने नेपाल सरकारको कुनै आदेश र उद्देश्य नभएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ’ मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र भक्तपुरले जारी गरेको आदेशको विषयमा सार्वजनिक रूपमा अभिव्यक्त चासो र चिन्ताप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
उक्त विज्ञप्ति मार्फत मन्त्रालयले काठमाडौँ र ललितपुर जिल्ला प्रशासनले जारी गरेको आदेशको खण्डन गरेको हो ।
