ओलीलाई कार्यकर्ताले भब्य स्वागत गर्ने

शुक्रबार, १५ असोज २०७८

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कार्यकर्ताहरूको स्कर्टिङमा विधान महाधिवेशन स्थल गोदावरी पुग्ने भएका छन् । ओलीलाई कार्यकर्ताहरूले ललितपुरको सातदोबाटो चोकबाट स्कर्टिङ गर्ने बताइएको छ । स्टकर्टिङमा गोदावरीस्थित सम्मेलन केन्द्र पुगेर ओलीले विधान महाधिवेशनको उदघाटन गर्नेछन् ।

उदघाटन समारोह सकिएपछि १६ गते हुने बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव ईश्वर पोखरेलको संगठनात्मक र संगठन विभागको तर्फबाट उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन् । यसअघि यी तीनैवटा दस्ताबेज स्थायी कमिटी, केन्द्रीय कमिटी र पुनः स्थायी कमिटीबाट अनुमोदन भइसकेका छन् ।

विधान महाधिवेशनमा ७७ जिल्ला जनसंगठन, प्रवाससहितका प्रतिनिधि सहभागी हुँदैछन् । महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य, केन्द्रीय निकायका पदाधिकारी र सदस्य, प्रदेश कमिटीका सबै सदस्यहरु उपस्थित हुनेछन् ।

जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका संघ र प्रदेशका सांसद, पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसंगठन र पेसागत संगठनहरूबाट चुनिएका प्रतिनिधि, भारतलगायत प्रवासका संघ–संगठनहरूबाट चुनिएका प्रतिनिधि र पार्टी केन्द्रबाट विधानबमोजिम मनोनीत सदस्य सहभागी हुनेछन् ।

एमाले नेताहरूले विधान महाधिवेशन पार्टीको आन्तरिक जीवनका लागि कोसेढुंगा साबित हुने दाबी गरेका छन् । यो नेकपा एमालेको महाधिबेशनले कार्यकत्तालाई पनि केहि सकारात्मक उर्जा मिल्ने र थप जिम्मेवारी का साथ पार्टीको अगाडि बढ्नेछ ।