यी हुन् एकीकृत समाजवादीको भागमा परेका मन्त्रालय

मंगलबार, १९ असोज २०७८

काठमाडौं – सत्तारुढ गठबन्धन दलहरुबीच मन्त्रालयको भागबन्डा टुङ्गीएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा मन्त्रालयको भागबन्डा टुङ्ग्याएको हो ।

जस अनुसार नेकपा एकीकृत समाजवादीको भागमा पाँच मन्त्रालय र एक राज्यमन्त्री परेको छ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सांसद मेटमणी चौधरीले आफूहरुले पाँच मन्त्रालय र एक राज्यमन्त्री पाउने सहमति भएको जानकारी दिए।

उनका अनुसार एकीकृत समाजवादीले रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ।

समाजवादीबाट एकजना राज्यमन्त्रीसमेत हुनेछन्।

एकीकृत समाजवादीका एक शीर्ष नेताले पार्टीको तर्फबाट विरोध खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, मेटमणी चौधरी र प्रेम आलेमगर मन्त्री बन्ने जानकारी दिए।

भवानी खापुङ पनि मन्त्री बन्ने चर्चा भए पनि पार्टीको भागमा पाँचवटा मात्रै मन्त्रालय परेकाले उनी मन्त्री नबन्ने देखिएको छ।

एकीकृत समाजवादीले राज्यमन्त्रीमा कसलाई पठाउने भन्ने अहिलेसम्म टुंगो लगाइसकेको छैन।

शीर्ष नेताहरुबीच मन्त्रालय भागबन्डामा सहमति जुटेपछि एकीकृत समाजवादीका नेताहरू अहिले आन्तरिक छलफलसमेत गरिरहेका छन्।