स्वास्थ्य मन्त्री बन्दै रामकुमारी झाँक्री, अरु कसलाई कुन मन्त्रालय ?

शुक्रबार, २२ असोज २०७८

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीकी सचिव रामकुमारी झाँक्री स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएकी छन् ।

बिहीबार बेलुका बसेको नेकपा एसको स्थायी समिति बैठकमा झाँकी्रलाई स्वास्थ्य मन्त्री बनाउने विषयमा छलफल भएको छ । विभिन्न मन्त्रालयमा चर्चा हुँदै आए पनि अन्ततः झाँक्री स्वास्थ्य मन्त्री बन्ने तय भएको हो।

नेकपा एसबाट सरकारको नेतृत्व नेता विरोध खतिवडा गर्ने भएका छन् । उनलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने नेकपा एसले जनाएका छ ।

प्रेम आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन्। एकीकृत समाजवादीले किसान श्रेष्ठलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाउने भएको छ।

शुक्रबार बिहान यी नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइने एक नेताले बताए । नेकपा माओवादी केन्द्रले पनि आफ्नो पार्टीबाट सरकारमा थपिने मन्त्रीहरुको मन्त्रालय टुंगो लगाएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीले थप तीन मन्त्री र एक राज्यमन्त्री पठाउँदैछ। बुधबार माओवादीले सरकारमा थपिने मन्त्री र राज्यमन्त्रीको नाम टुंगो लगाएको थियो।

माओवादीले थप तीन मन्त्रीमा देवेन्द्र पौडेल, शशि श्रेष्ठ र महेश्वर गहतराजलाई पठाउने निर्णय गरेको थियो। त्यसैगरी, राज्यमन्त्रीमा बोधमाया यादवलाई पठाउने टुंगो गरेको थियो।

पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनाउने निर्णय भएको माओवादी केन्द्रका एक स्थायी समिति सदस्यले बताए।

त्यस्तै, गहतराजले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पाउने भएका छन् भने श्रेष्ठलाई खानेपानी तथा सरसफाई मन्त्रालय दिइने भएको छ। राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी हुने यादवलाई भने कुन जिम्मेवारी दिने भन्ने खुलाइएको छैन।

माओवादीबाट यसअघि नै अर्थमन्त्री जनार्दन शर्मा र उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल सरकारमा सहभागी छन्।