शिक्षा मन्त्रीमा देवेन्द्र पौडेल, शिक्षकको लाइसेन्स र विज्ञापन खुल्ने मिति पनि तोकियो

शुक्रबार, २२ असोज २०७८

काठमाडौँ – नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देबेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्ने भएका छन् । नेकपा माओवादी केन्द्रको कोटामा परेको शिक्षा मन्त्रालय उनको भागमा परेको हो ।

मन्त्रालयमा मन्त्री आएसँगै शिक्षक सेवा आयोगले आफ्ना रोकिएका कामहरुलाई अगाडि बढाउने भएको छ । आयोगले छिटो काम गर्न नसक्नुको प्रमुख कारण नियमावलीलाई देखाउँदै आएको थियो।

लाइसेन्स, बढुवा र खुला तर्फको विज्ञापन गर्न नियमावलीमा भएका केही प्रावधानले समस्या पर्ने भन्दै नियमावली संशोधनका लागि मन्त्रिपरिषद्मा पठाइएको र विचाराधीनमा रहेकोले काम गर्न नपाएको आयोगको तर्क थियो ।

शिक्षा मन्त्री नभएको र शिक्षा मन्त्रालय प्रधानमन्त्री आफैले समालेका कारण नियमावली संशोधनमा ढिलाइ भएको बताउने आयोगलाई अब भने काम गर्ने वातावरण बन्ने देखिएको छ ।

हाल शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सेवा आयोगको नियमावली संशोधनका लागि क्याबिनेटमा प्रस्ताव लग्ने प्रक्रियामा रहेको जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी गरेसँगे अब यो समस्या हल हुने र आयोगलाई विज्ञापन गर्ने बाटो खुल्ने छ।

प्रस्ताव लानका लागि विभागीय मन्त्रीले हेरेर स्वीकृत दिए पछि संशोधनका लागि प्रस्तावलाई क्याबिनेटमा पठाइने प्रावधान रहेको छ । नियमावली संशोधन नगरी खुला विज्ञापन र आन्तरिक प्रतिस्पर्धा गर्न नमिल्ने भए पछि आयोगको अनुरोधमा अघिल्लो सरकार हुँदै खेरी संशोधनका लागि पठाएको तर सरकार परिवर्तनसँगै त्यो भन्दा अगाडी कानुन मन्त्रालय, अर्थ मन्त्रालय लगायत मन्त्रालयहरूसँग सहमति लिएर निर्णयका लागि क्याबिनेटमा गएको प्रस्ताव स्वतः फर्केर आएको र पुनः प्रक्रियामा जानुपर्ने भएकाले केही ढिला भएको मन्त्रालयका कर्मचारी बताउँछन्।

आज प्रधानमन्त्री सेर बहादुर देउवाले सत्ता गठबन्धनमा नेकपा माओवादीको भागमा परेको शिक्षा मन्त्रालयमा पौडेललाई शपथ खुवाउने तयारी गरिएको छ । विभागीय मन्त्री आएपछि अब भने आयोगले छिटै विज्ञापन खोल्ने अपेक्षा गर्न सकिन्छ।

खुला विज्ञापन तर्फ विषयगत परीक्षा लिने प्रावधान रहेकाले आन्तरिक प्रतिस्पर्धाका परीक्षा लिन अफ्ठेरो भएको र यस अगाडिको नियमावलीले नमिल्ने भएका कारण नियमावली संशोधन गर्न अनिवार्य भएको छ । नियमावली संशोधन भएपछि छिटोमा दशैं पछि र ढिलोमा मंसिर पहिलो हप्तामा विज्ञापन खोल्ने तयारी थालेको आयोग श्रोतले जनाएको छ ।

शिक्षकहरूको श्रेणीगत बढुवामा प्रथम वा द्धितिय श्रेणीमा बढुवा भएर जाँदा जति सिट सङ्ख्या हुन्छ त्यसमा ७५ प्रतिशत कार्यसम्पादनका आधारमा र २५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट हुने गरेको छ ।