चितवनबाट आयो धुर्मुस–सुन्तलीका लागि खुशीको खबर
काठमाडौँ – कलाकार तथा समाजसेवी सिताराम कट्टेल (धु्रमुस) र कुन्जना घिमिरे (सुन्तली)का लागि खुशीको खवर छ ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला अलपत्र परेको भन्दै यो सरकारले बनाउने बताएकी छन् ।
चितवन उद्योग संघको साधारणसभामा सहभागी भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग सार्वजनिक मञ्चमै उनले रंगशाला निर्माणको काम अब सरकारले अघि बढाउनुपर्ने बताइन्।
‘देशकै गरिमा बोकेको रंगशाला निर्माणका लागि महानगरले जग्गा उपलब्ध गरायो, आवश्यक सबै सहयोग गर्यो। तर स्रोत जुटाउने जिम्मा लिएका धुर्मुस, सुन्तलीले बनाउन सकेनन्,’ मेयर दाहालले भनिन्, ‘अब रंगशाला निर्माणको जिम्मा सरकारले लिनुपर्ने भयो।’
सरकारमा रहेका गठबन्धनका नेता प्रचण्डसँग उनले बहुवर्षीय योजनाअन्तर्गत रंगशाला निर्माणको काम अघि बढाउनु पर्ने बताइन्।
क्रिकेट रंगशाला निर्माणकाक्रममा १६ करोड रुपैयाँ ऋण लागेपछि निर्माणको जिम्मा लिएको धुर्मुस–सुन्तली फाउण्डेशन अन्योलमा छ।
फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ उधारो तिर्न नसकेपछि रंगशाला निर्माणको काम रोकेर काठमाडौं पुगेका छन्।
केही दिनअघि उनले खर्च अभावका कारण रंगशाला निर्माणको काम अघि बढाउन नसकेपछि अर्थ र खेलकुद मन्त्रालयसँग आर्थिक सहयोगको आग्रह गरिएको बताएका थिए।
अहिले अर्थ र खेलकुद दुबै मन्त्रालय प्रचण्डको हातमा छन् । प्रचण्डले चाहे समयमै रङ्गशाला निर्माण हुने सम्भावना प्रबल छ ।
गत साउन १५ देखि रंगशाला निर्माणको काम बन्द छ।