गृह मन्त्रीका छोरा अजय पक्राउ
काठमाडौं – मान्छे मारेको आरोपमा गृहमन्त्रीका छोरा पक्राउ परेका छन् । केन्द्रीय सरकारका गृह राज्यमन्त्री अजय मिश्राका छोरालाई प्रहरीले पक्राउ गरेको छ ।
उत्तर प्रदेशको लखिमपुर खिरीका किसानहरुलाई गाडीले कुल्चिएर हत्या गरेको अभियोगमा गृह राज्यमन्त्री मिश्राको छोरा आशिषलाई प्रहरीले पक्राउ गरेको हो ।
सो आरोपका सम्बन्धमा शनिबार प्रहरीले उनीसँग १२ घण्टासम्म सोधपुछ गरेको थियो ।
डिआईजी उपेन्द्र अग्रवालले घटनाबारे सोधपुछ गर्ने क्रममा आशिषले सहयोग नगरेको र उत्तर दिनबाट पन्छिन खोजेकोले उनलाई न्यायिक हिरासतमा पठाइएको जानकारी दिएका छन् ।
आशिष मिश्रा लखिमपुर खिरीको तिकुनिया किसान हत्याकाण्डका मुख्य आरोपी हुन् ।
सरकारले ल्याएको एक कानुनविरुद्ध लामो समयदेखि आन्दोलनरत किसानहरुको र्यालीमा सहभागीहरुलाई पछाडिबाट कारले ठक्कर दिएर हत्या गरेको आरोप उनीमाथि लागेको छ ।
३ अक्टुबरको यो घटनामा चार जना किसानहरुको मृत्यु भएको थियो ।
त्यसपछि भड्किएको हिंसामा परी दुई जना भाजपाका कार्यकर्ता, एकजना आशिष मिश्राको गाडी चालक र एक जना स्थानीय पत्रकार पनि मारिएका छन् ।
सरकारले किसानका लागि कडा कानुन बनाएको भन्दै भारतमा किसान आन्दोलन चलिरहेको छ । त्यही सिलसिलामा राज्यमन्त्रीलाई कालो झण्डा देखाउने कार्यक्रममा गाडिले किचेर ४ जना किसानको ज्यान लिएको उनीमाथि अभियोग लागेको हो ।