प्रचण्डका कारण बुटवलमा गोली चल्यो, कति भयो क्षेति ?

आइतबार, २४ असोज २०७८

बुटवल – रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रमा गोली चलेको छ । औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूह र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ ।

प्रहरीले गोली चलाउदा केही घाइते भएका छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्रहरीले गोली चलाएको पुष्टि गरे।

औद्योगिक क्षेत्रको जग्गामा अस्थायी रुपमा बसोबास गर्ने सुकुम्बासी समूह र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी रहको प्रजिअ तिवारीले बताए ।

प्रशासनले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनावको स्थिति सिर्जना भएको हो । प्रहरीले राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई पक्राउ गरेपछि स्थानीय आक्रोशित भएका हुन् ।

बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतित्रमण भएको थियो ।

प्रशासनले तीन दिनदेखि रातिमा टहराहरु भत्काइदिँदै आएको थियो । तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आज बल प्रयोग गरेको हो ।

जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्याश गर्दा स्थानीयले विरोध गर्दै ढुंगामुढा गरेपछि कार्यक्रम बिथोलिएको थियो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार चुनाव अगाडि सम्पूर्ण भूमिहीन सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्ने दाबी गरेका थिए ।

नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको मुख्य प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भूमि आयोग बनेको र आफ्नो दलले भूमि व्यवस्था मन्त्रालय लिएको बताएका थिए ।