मोतीपुर अपडेट : ४ जनाको ज्यान गयो, सिडिओ वेपत्ता
काठमाडौँ — बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमणको विषयमा झडप हुँदा ४ जनाको ज्यान गएको । घटनामा दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।
युनिभर्सल कलेज अफ मेडिकल साइनसेज भैरहवामा उपचारका लागि गएका ८ जना अतिक्रमणकारी र ५ प्रहरीमध्ये ४ जना अतिक्रमणकारीको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरूङका अनुसार ३ जनाको अस्पताल ल्याउँदा नै मृत्यु भएको थियो । १ जनाको उपचारको क्रममा मृत्युभएको हो । अन्यको उपचार हुँदैछ ।
प्रहरी स्रोतका अनुसार झडपमा घाइते भएका कपिलवस्तुको बाणगंगा नगरपालिका १० का ४८ वर्षीय रमेश परियारको भैरहवाको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको छ ।
बाटोमै मृत्यु भएकाहरुको पहिचान खुल्न बाँकी छ । उनीहरुमध्ये २ जना अन्दाजी ४० र एक जना २० वर्षका पुरुष छन् । चारै जनाको सब भैरहवा मेडिकल कलेजमा रहेको अस्पताल प्रशाशनले जनाएको छ ।
तर, रुपन्देहीका सुरक्षा अधिकारीहरुले यसलाई आधिकारिक पुष्टि गरेका छैनन् ।
झडपमा सुरक्षाकर्मीसहित जग्गा कब्जा गर्नेहरु घाइते भएपछि प्रहरी प्रमुख मनोज केसी र प्रमुख जिल्लाअधिकारी ऋषिराम तिवारी संचारकर्मीको सम्पर्क बाहिर छन् ।
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । झडपपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको छ ।
आइतबार ४ बजेदेखि लागू हुने गरी पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।