दुर्घटना अपडेट : २६ जनाको ज्यान गयो, घाइतेको हेलिकप्टरबाट उद्धार

मंगलबार, २६ असोज २०७८

काठमाडौं – ३९ जना यात्रु बोकेको यात्रुवाहाक बस दुर्घटनामा परेको छ । सुर्खेतबाट मुगुतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी २६ जनाको ज्यान गएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ तरतरे खोलामा बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसमा सवार १८ जना घाइते भएका छन्। हेलिकप्टर मार्फत घाइतेको उद्धार भइरहेको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए।

‘हामीले हेलिकप्टर मार्फत उद्धारको प्रयास गरिरहेका छौँ। दुर्घटनामा २६ जनाको मृत्यु भइसेको छ,’ उनले भने।

नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको बस दुर्घटनामा परेको हो । घटनाको कारण बारे केही नखुलेको भए पनि उकालोमा बसले तान्न नसकेपछि दुर्घटना भएको हुनसक्ने स्थानीय प्रशासनले जनाएको छ।

सडकबाट अढाइ सय मिटर बस तल खसेको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका निरिक्षक जीवन लामिछानेका अनुसार ओभरलोड नभएको थिएन् ।

भे १ ख ३१ ६७ नम्बरको गाडी मुगुको छायानाथ रारा नगरपालिका –७ मा दुर्घटना भएको हो । अहिले प्रदेश प्रहरी कार्यालयबाट डीएसपीसहितको टोली घटनास्थलमा पुगेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक माधव प्रसाद श्रेष्ठले ३६ सिटको गाडीमा ४१ जना रहेको बताए । त्यति धेरै ओभरलोड पनि नभएको उनको भनाई छ ।

‘स्थानीय प्रहरी पुगिसकेको छ । जिल्लाको प्रमुखहरु पनि पुगिसकेको छ ।’ उनले भने, ‘घाइते कति भए भन्ने एकीन विवरण आइसकेको छैन ।’

घाइतेहरुलाई नजिकको अस्पताल पठाउने तयारी भइरहेको रहेको छ । उद्धारको लागि सशस्त्र प्रहरीको टीम घटनास्थलमा पुगिसकेको छ ।