दसैंमा हेर्नुहोस् यी दुई नेपाली फिल्म, जसले अन्तराष्ट्रिय अवार्ड जिते
काठमाडौँ – दसैंमा धेरैलाई फुर्सद हुन्छ । फुर्सदको समयमा धेरैले नयाँ नयाँ ठाउँको भ्रमण गर्ने, पुस्तक पढ्ने र आफन्त भेटघाट गर्ने तथा चलचित्र हेर्ने गर्दछन् ।
सामाजिक संजालमा चलचित्र हेर्नेको जमात पनि सानो छैन् नेपालमा । इन्द्रेणी खोज्दै जाँदा (चजिङ रेन्बोज) र झिग्राना हेर्नलायक नेपाली फिल्म हुन्। काठमाडौं सहरमा बाहिरी जिल्लाबाट आएका मानिसहरूको संख्या लाखौं छ। तिनमा कलेज पढेर जीवनमा केही बन्ने सपना बोकेर आउने युवा धेरै होलान्। तर ती युवा के सोच्छन्रु कसरी सोच्छन्रु यस विषयमा सिनेमा बनाउनेहरूले धेरै गम्भीर रूपमा सोचेको पाइँदैन।
इन्द्रेणी खोज्दै जाँदा (चेजिङ रेन्बोज) की निर्देशक सहारा शर्मा भने यसबारे मिहीन रूपमा घोत्लेकी छन्।फिल्मको कथा काठमाडौं बाहिरबाट आएका दाजु र बहिनीहरूको वरिपरि घुम्छ। उमेरमा केहीमात्र साना–ठूला उनीहरू काठमाडौंको साँघुरो कोठामा बसेर इन्द्रेणीजस्तै सप्तरंगी सपना बुन्छन्।
भविष्यमा सुखी र भव्य जीवन बाँच्ने सपना देखेका उनीहरू वर्तमानमा भने आम मध्यमवर्गीय नेपाली युवाझैं उनीहरूले घरबाट सीमित पैसा पाउँछन्। सीमित पैसामा कलेज र घरको खर्च धान्न बाध्य छन्। यो खर्चको हिसाबकिताब र भागवन्डा ठूली बहिनी सनमले लिएकी छन्। सनम लुकीलुकी झ्यालबाट छिमेकीको टिभीमा आउने कार्यक्रम हेर्छिन्।
पढाइमा कमजोर दाइ दीपकलाई सनमले त्यसरी चिहाएर टिभी हेरेको मन पर्दैन। तर उनमा पनि कलेजका साथीहरूलाई कोठामा बोलाएर लाइभ फुटबल हेर्ने उत्कृट चाहना छ। यी दाजुबहिनी पकेट खर्च कटाएर भए पनि कोठामा टिभी किन्ने अभियानमा छन्।