रविन्द्र मिश्रको प्रश्न : प्रधानमन्त्री जस्तो मान्छेले जसले जे पुरस्कार दियो, त्यसैका लागि शिर नुहाउने ? यो त अति भयो !
मङ्सिर १७, काठमाडौं – विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले कुनै धर्म प्रचारक संस्थाले दिएको पुरस्कार प्रधानमन्त्रीले थाप्दा देशकै अपमान भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मिश्रले देशको प्रधानमन्त्रीले जसले जे पुरस्कार दियो त्यसैका लागि शीर नुहाउँदा सम्मान नभई अपमान भएको बताएका हुन् ।
‘तपाईँको घाँटीमा झुण्डिएको सम्मान होइन, अपमान हो’, मिश्र लेख्नुहुन्छ, ‘यो त अति भयो, तपाई देशको प्रधानमन्त्री हामी सबैको प्रधानमन्त्री तर देशको प्रधानमन्त्रीले जसले जे पुरस्कार दियो त्यसैका लागि शीर नुहाउने ?’
प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार सम्पन्न एसिया प्यासिफिक समिटमा युनिभर्सल पीस फेडेरेसनले ‘गुड लिडरसिप एन्ड गभरनेन्स अवार्ड’ प्रदान गरेको थियो । प्रधानमन्त्री ओलीले यो अवार्ड पाएसँगै चौतर्फी आलोचना भइरहेको छ । संयोजक मिश्रले देशमा खराब नेतृृत्व र कुशासनका लागि हरदिन यति बिघ्न आलोचना भैइरहेका बेला नेतृत्व र सुशासन पुरस्कार लिन अफ्टेरो लागेन भन्दै प्रधानमन्त्री ओलीलाई प्रतिप्रश्न गरे ।
उनी लेख्छन , ‘कि निर्मलालाई न्याय, वाइड बडी विमान, राष्ट्रपतिलाई गाडी, भ्रष्टाचारका अन्य मामिला तथा विकास आदी सबै विषयमा गज्जब काम गरेको छु भन्ने भ्रममा हुनुहुन्छ ?’
‘बारम्बार नागरिककै मत जितेर आउनुभएकोले हामी नेपाली तपाईँकै लागि योग्य छौं भन्ठान्नुभएको होला’, मिश्रले लेखेका छन् , ‘तर अब तपाईँको त्यो भ्रम लामो समय टिक्नेवाला छैन ।’