बार परिषरमा वकिलहरुको ग्याङ फाइट, एक जना घाइते

शुक्रबार, १२ कार्तिक २०७८

काठमाडौं – नेपाल बार एसोसिएसनको परिषरमा एक कानुन व्यवसायी कुटिएका छन् । शुक्रबार बारको बैठक जारी रहँदा अधिवक्ता भूमिनन्द चुडाल कुटिएका हुन् ।

चुडाल विभिन्न सञ्चार माध्यमहरुलाई अन्तर्वार्ता दिँइरहँदा अर्का अधिवक्ता विराट न्यौपानेले उनीमाथि कुटपिट गरेका हुन्।

इजलास नचल्दा सेवाग्राही मर्कामा परेको भनेर अन्तर्वार्ता दिइरहेको बेलामा आफूमाथि न्यौपानेले कुटपिट गरेको उनको आरोप छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बारको बैठक बसेको थियो।

बहसका लागि सर्वोच्च अदालत पुगेका चुँडालको इजलाश बस्न नसक्दा न्यायालय प्रभावित भएको विषयमा सञ्चारमाध्यममा प्रतिक्रिया दिएका थिए ।

‘मिडियामा न्यायालयविरुद्ध किन बोलिस् भन्दै ममाथि हातपात गरियो’, चुडाँलले बार परिसरमा पत्रकारहरूसँग भने ।

दुवै अधिवक्ता नेपाली कांग्रेसको शुभेच्छुक संस्था डेमोक्रेटिक लयर्स एसोसिएसन आबद्ध हुन् ।

न्यौपाने पूर्वन्यायाधीश नरेन्द्र न्यौपानेका छोरासमेत हुन् । न्यौपाने प्रधानन्यायाधीशको राजीनामाको पक्षमा उभिएका छन् भने चुडाँल न्यायाधीशहरूको बेन्च बहिष्कारको विरुद्धमा छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सरकारमा आफ्नो भाग खोजेको भन्दै अदालतका न्यायाधीश र बारले आन्दोलन गरिरहेको छ । उनीहरुले प्रधानन्यायाधीशले राजीनामा दिएर मार्गप्रसस्त गर्न पर्ने एक शुत्रीय माग राखेका छन् ।