प्रधानन्यायाधीशबारे गठबन्धनमा यस्तो भएको रहेछ सहमति, प्रचण्डले बोल्दीन भन्दाभन्दै खुस्कियो कुरा

शनिबार, १३ कार्तिक २०७८

धनुषा — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) न्यायालयमा भइरहेको लफडाबारे बल्ल मुख खोलेका छन् ।

उनले न्यायालयमा देखिएको समस्याबारे गठबन्धनका शीर्ष नेताहरु साझा धारणा बनाउने विषयमा सहमति भएको बताएका छन् । उनले न्यायालयका बारेमा गठबन्धन दलको धारणा छिट्टै सार्वजनिक हुने पनि दाबी गरे ।

‘न्यायालय र राजीनामाबारे मेरो व्यक्तिगत धारणाभन्दा गठबन्धनकै साझा धारणा सार्वजनिक गर्ने क्रममा छौं,’ सर्लाहीमा आयोजित कार्यक्रममा सहभागी हुन शनिबार जनकपुर आइपुगेका दाहालले विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै उनले भने ।

‘गठबन्धनका नेता अहिले कोही कता, कोही कता भएकाले बैठक बस्न ढिलो भएको छ । बैठकलगत्तै हामी आफ्नो धारणा बाहिर ल्याउँछौं ।’ उनले भने ।

उनले न्यायालयमा देखिएको समस्या समाधान गर्ने दृष्टिकोणले नै हल गरिने बताए ।

‘गठबन्धन स्मुथ्ली चलिरहेको छ । कुनै विवाद आएको छैन,’ उनले भने,‘दलहरुले आफ्नो राजनीतिक दायरा बढाउनु आफ्नो कुरा छ । तर गठबन्धनलाई असर गर्ने काम कतैबाट भएको छैन ।’

प्रतिपक्षीले दिनहुँ संसद् गतिरोध गर्दा केही समय पर सर्दा समस्या हल हुने भएकाले प्रतिनीधिसभालाई रोकिएको दाहालले बताए ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने प्रधानन्यायाधीशले एक्लै राजीनामा दिन नहुने बताएको छ ।

‘राष्ट्रपतिका नाममा परामादेश दिने ५ जना न्यायाधीशले नै राजीनामा दिन पर्छ । परामादेश जारी गर्न सबैको योगदान समान छैन् र ।’ एमाले अध्यक्ष ओलीले बडा अधिवेशनको उद्घाटन गर्दै भनेका थिए ।