काठमाडौँमा ग्यास सिलिन्डर पड्कियो

शनिबार, १३ कार्तिक २०७८

काठमाडौँ – काठमाडौंको बुढानिलकण्ठमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको छ ।

बुढानिलकण्ठ नगरपालिका ४ स्थित पासिकोट शिब मन्दिर नजिक बस्ने ४३ वर्षीय दिलसेन खड्काको घरमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हो ।

शुक्रबार राति भएको आगलागीमा अन्नपात, लत्ताकपडा, भाँडावर्तन र नगद १ लाख ५० हजार रुपैयाँ जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

यता, काभ्रेको पाँचखाल नगरपालिका ५ बस्ने देवराज बिकको माहालक्ष्मी फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ ।

आगलागी हुँदा फर्निचर मेशिन र फर्निचर लगायतका सामान पूर्णरुपमा जलेर करिब १ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

ताप्लेजुङको सिदिङवा गाउँपालिका ६ भालुखोप बस्ने देवी प्रसाद चौहानको घरको चुलोमा बालेको आगो सल्किएर आगलागी भएको छ ।

शनिबार बिहान आगलागी हुँदा घर, लत्ताकपडा, भाँडावर्तन जलेर करिब १२ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।