ख्याल राख्नुहोस्, तपाई के चाहनुहुन्छ ?
काठमाडौँ – तपाइँको आत्माबाट जे आवाज आउँछ, तपाइँको मनमा जे भावना उठ्दछ, तपाइँले जे चाहुनुभएको छ, त्यो तपाइँको भावनाबाट भएको हो । तपाइँ त्यसलाई पूरा गर्न सक्नुहुन्छ ।
किनभने सबै इच्छाहरू पूरा हुन कै लागि उत्पन्न भएका हुन्छन् । असम्भव त केही पनि छैन । मनको भित्री गहिराइबाट निस्केका सबै इच्छाहरू पूरा भएरै छाड्छन् ।
कोही मानिसहरू आफ्नो असफलताको लागि अरूलाई दोष दिन्छन् । आफ्नो योग्यता र असफलताको दोष उनीहरू भाग्य, विधाता अथवा समाजलाई लगाउँछन् । आफ्नो गल्ती अरूको टाउकोमा थोपर्छन् । तर यसमा त दोष स्वयं उसैको छ ।
तपाईं पूरा प्रयास नै गर्नुहुन्न । तपाइँले प्रगतिको, सफलताको विश्वास गुमाइसक्नुभएको छ । आत्मविश्वास गुमाइसक्नुभएको छ । आफ्नो असफलताको कारण खोज्नुको साटो तपाई अरूलाई दोष लगाउन थाल्नुभएको छ । प्रयास गर्नुस पुरा संकल्पको साथ, सम्पूर्ण अन लगाएर । सफल हुने दृढ विश्वासको साथ अघि बढ्नुस् । सफलता तपाइँको पाउ चुम्न आफै आइपुग्छ ।
मनुष्यको व्यक्तित्व दुई चीज मिलेर बनेको हुन्छ (१)जन्मजात गुण र (२) वातावरण । जन्मजात गुणमा बाबुआमा र अन्य पूर्वजको झलक पाइन्छ, तपाइँको आकार, रंग, रूप यसले निर्धारित गर्दछ । व्यक्तित्व निर्माणको महत्त्वपूर्ण भूमिका त तपाइँको आफ्नो वरिपरिको वातावरणले खेलेको हुन्छ ।
तपार्इँ जे हुनुहुन्छ, त्यो तपाइँको वातावरणको देन हो । तपाई जे सोच्नुहुन्छ, जुन वातावरणमा बस्नुहुन्छ, जस्ता मानिसहरूको बीचमा रहनुहुन्छ, जस्तो कला गर्नुहुन्छ, तपाईं वास्तवमा त्यस्तै बन्नुहुन्छ ।
तपाई जे सोच्नुहुन्छ, जे विचार गर्नुहुन्छ, जे विश्वास गर्नुहुन्छ, त्यसैले तपाईंको जीवनको ढाँचा तयार पार्दछ । कतिपय मानिसको बारेमा भन्ने गरिन्छ कि उनीहरू सधैं सफल हुन्छन्, जे इच्छा गर्छन त्यो पाउँदछन् । उनीहरू जे मा हात हाल्दछन् माटो पनि न बन्दछ, जे काम सुरू गदछन् त्यो पुरा भएरै छाड्दछ ।
यसको अर्थ के हो ? यसको स्पष्ट अर्थ यो हो कि उनीहरू सधैं सफलताको कुरा मात्र सोच्दछन्, सफलताकै विचारमा मात्र डुबेर निरन्तर प्रयत्न गरिरहन्छन्, निराश कहिल्यै हुँदैनन् । दृढ आत्मविश्वास र अथक परिश्रमको बलले तपाइँ पनि सफल हुन सक्नुहुन्छ ।
भगवानको प्रेरणाबाट तपाइँ शक्ति लिन सक्नुहुन्छ । र, आफ्नो आकांक्षा पूरा गर्न सक्नुहुन्छ । आफूले सोचेको सपनाको पूर्णताको लागि प्रयास गर्नुहोस् । यसलाई ईश्वरको प्रेरणा मानेर अगाडि बढ्नुहोस् । सफलता अवस्यभावि छ ।