सर्वोच्चबाट चोलेन्द्र श्रीमान् आउट !

आइतबार, १४ कार्तिक २०७८

काठमाडौँ – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा अदालतमा देखिएको गतिरोध अन्त्य नहुँदासम्म विदामा बस्ने भएका छन् ।

१४ जना न्यायाधीशले इजलास बहिस्कार गरेपछि समस्यामा रहेका राणालाई नेपाल बार एशोसियसनले पनि आन्दोलन घोषणा गरेपछि उनी केही समयका लागि विदामा बस्ने भएका हुन् ।

कार्यकालिकामा भाग खोजेको भन्दै प्रधानन्यायाधीशको राजीनामा माग गर्दै १४ न्यायाधीशले इजलास बहिस्कार गरिरहेका छन् । प्रधानन्यायाधीश राणाले भने राजीनामा नदिने बरु नियम अनुसार आइपर्ने चुनौतिहरुको सामाना गर्ने बताएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरुले राणालाई सामुहिक रुपमा दुई पटक भेटी राजीनामा दिएर निकास खोल्न सुझाव दिएका थिए । तर राजीनामाबारे प्रधानन्यायाधीश राणा टसको मस भएनन् ।

अघिल्लो आइतबार दिउँसोदेखि सर्वोच्चको इजलास ठप्प छ । सोमबार र मंगलबार इजलास तोकियो तर न्यायाधीशहरु इजलासमा गएनन् । न्यायाधीशहरुले नै अघोषित रुपमा सर्वोच्चको इजलास बहिष्कार गर्दै आएका छन् ।

१४ जना न्यायाधीशले राणाको कारण न्यायालय संकटमा फसेको निश्कर्ष निकालेर राजीनामाको निम्ति दबाब दिइरहेका छन् । न्यायाधीशहरु इजलासमा बस्ने सम्भावना अझै देखिएको छैन ।

एकथरिले न्यायाधीशहरुले सामुहिक छलफलबाट नयाँ ‘स्टेप’ चाल्ने सम्भावना औंल्याएका छन् ।

दलहरुले महाअभियोग नलगाउने, सम्बन्धित ब्यक्तिले राजीनामा नदिने अनि न्यायाधीश र वकिलहरुको बहिष्कारका कारण मुध्दाको सुनुवाइसमेत शुरु नहुने भएपछि तत्कालको निम्ति प्रधानन्यायाधीश बिदा बस्न लागेको श्रोतको भनाई छ ।

न्यायाधीशहरूले नै इजलास बहिष्कार गरेका कारण हरेक दिन करिब दुई सय मुद्दा प्रभावित भएका छन् । यस्तो अवस्थामा आजपनि पनि इजलास बहिष्कार गरेर राजीनामाको लागि दबाब बढाउने तयारीमा न्यायाधीशहरु बसेका छन् ।

यता नेपाल बार एसोसिएनसनका सल्लाहकार एवम् वरिष्ठ अधिवक्ता र अधिवक्ताहरुले पनि इजलास बहिष्कार गरी आन्दोलन घोषणा गरेका छन् ।