रामकुमारी झाँक्री अस्पतालबाट त डिस्चार्ज भइन्, तर…
काठमाडौं – सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पतालबाट डिस्चार्ज भएकी छिन् । निमोनिया संक्रमण भई एक सातादेखि वीर अस्पतालमा उपचार गराइरहेकी झाँकी बुधबार साँझ डिस्चार्ज भएकी हुन्।
अस्पतालबाट डिस्चार्ज भएपनि उनले केही दिन भेटघाट नगर्ने सामाजिक सञ्जालमार्फत् जानकारी दिएकी छिन्।
‘मलाई संक्रमणको उच्च जोखिम कायम रहेको हुँदा चिकित्सकको सल्लाहअनुसार अझै केही दिन भेटघाट गर्न असमर्थ रहेको कुरा अनुरोध गर्दछु,’ उनले फेसबुकमा लेखेकी छिन्।
उनलाई शुक्रबार डिस्चार्ज गर्ने भनेपनि बुधबारै डिस्चार्ज गरिएको हो ।
सामान्य स्वास्थ्यमा समस्या देखिएर वीर अस्पताल भर्ना भएकी झाँक्रीलाई आगामी शुक्रबार मात्र डिस्चार्ज गरिने अस्पतालले जनाएको थियो ।
तर नेपालीहरुको दोश्रो ठूलो चाँड तिहारलाई मध्यनजर गर्दै परिवारले डिस्चार्ज गर्न आग्रह गरेपछि अस्पतालले भेटघाटहरु बन्द गर्ने सर्तमा डिस्चार्ज गरेको हो ।
रुघाखोकी, ज्वरो, निमोनिया देखिएपछि उपचारका लागि अस्पताल पुगेकी मन्त्री झाँक्री गत बिहीबार अस्पताल भर्ना भएकी थिइन् । उनलाई चिकित्सकले भेटघाट पूर्णरुपमा बन्द गरेर उपचार गरेका थिए ।
‘स्वास्थ्यमा सुधार आएको छ । घरमा जाँदा भेटघाट धेरै हुने, कामको चापले धपेडी पर्ने भएकाले हामीले अस्पतालमै आराम गर्न भनेका थियौँ ।’ उपचारमा संलग्न एक चिकित्सकले भने, ‘उहाँहरुले घरमै आराम गर्न सहज हुने र भेटघाटलाई बन्द गर्ने बताएपछि डिस्चार्ज गरिएको हो ।’
बाहिरको इन्फेक्सनले स्वास्थ्यमा थप जटिलता ल्याउने भन्दै बाहिरका भेटघाट तथा टेलिफोन सम्पर्क पनि बन्द गरिएको झाँक्रीको सचिवालयले जनाएको छ ।