केपी ओलीले सुन्नै नसक्ने शब्द प्रभु साहको मुखबाट खुस्कियो, एमालेमा खैलाबैला
रौतहट – पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रभु साहले एमाले अध्यक्ष केपी शर्मा ओलीको विरुद्धमा बोलेका छन् ।
उनले एमसीसी सम्झौता राष्ट्रघाती भएको जिकिर गर्दै त्यसलाई कुनैपनि हालतमा रोक्नुपर्ने बताउँदै ओलीको विरुद्धमा बोलेका हुन् ।
ओली एमसीसी संसदबाट जसरी पास गर्न पर्ने पक्षमा ओकालत गर्दै आएका छन् । सरकारमा हुँदा धेरै पटक संसदबाट एमसीसी पास गर्न प्रयास गरेका ओली अन्तत असफल भएका थिए ।
धेरैले यही एमसीसीका कारण नेकपा फुटेको र यसकै कारण एमाले पनि दुई चिरा भएको बताउने गरेका छन् ।
दीपावली तथा छठको अवसरमा गृह जिल्ला रौतहटको फतुवा विजयपुर नगरपालिका–३, टेंग्राहामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै साहले एमसीसी सम्झौता देश र जनताको लागि हितमा नरहेको र संसदबाट अनुमोदन गरेर यसलाई लागु गरे देशमा द्वन्द्व निम्तिने जिकिर गरे ।
माओवादी केन्द्र र एकीकृत समाजवादी समेतको सहयोगमा काँग्रेस नेतृत्वको सरकारले एमसीसी पास गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै उनले यसविरुद्ध जनता एकजुट हुनुपर्ने बताए ।
‘तपाईँहरू हेर्न सक्नुहुन्छ अहिले देशमा एमसीसी सम्झौता गर्नका लागि सरकार लालायित छ । केही अर्ब पैसा अनुदानको नाममा देशमा द्वन्द्व निम्त्याउन राष्ट्रघाती एमसीसी सम्झौता गर्न कांग्रेस नेतृत्वको सरकार विदेशीसामु नतमस्तक छ’, नेता साहले भने ।
उनले अगाडि भने, ‘कांग्रेस मात्र होइन कम्युनिष्ट खोल ओढेका माधव, प्रचण्ड, जसपा र सो पार्टीका उपेन्द्र यादव पनि एमसीसी सम्झौता पारित गर्न मतियार बनेका छन्।’
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुश्वहा, नेता त्रिभुवन साह, एमाले जिल्ला सचिव मनोज यादव, फतुवा विजयपुर नगरपालिकाकी उपमेयर कान्ति देवी महतो, वडाध्यक्ष ब्रह्मा नारायण यादवलगायतको उपस्थिति रहेको थियो ।