सर्वोच्चमा झडप, दर्जनौं वकिल पक्राउ

शुक्रबार, २६ कार्तिक २०७८

काठमाडौं – कानुन व्यवसायीको जुलुसमा झडप भएको छ । केही पक्राउ परेका छन् ।

उनीहरु सर्वोच्च अदालत अगाडिको सडकमा छन् । त्यहाँ आन्दोलनरत पक्ष र विपक्षका कानुन व्यवसायीहरुबीच केहीबेर धकेलाधकेल भएपछि झडप भएको हो ।

कानुन व्यवसायीहरु बाहिरी सडक हुँदै सर्वोच्च अदालत तर्फ अघि बढेका छन् । सर्वोच्च अदालत प्रवेश गर्ने भित्री गेटहरु सबै बन्द भएपछि उनीहरुले बाहिरी गेटतर्फ अगाडि बढेका हुन् ।

उनीहरुले प्रधानन्यायाधीश राजीनामा दे भन्दै नारा लगाएका छन् ।

प्रधानन्यायाधीश सर्वोच्च अदालतभित्र प्रवेश गर्ने गेटमा पनि ताला लगाएको देखिएको छ । यो गेट प्रधानन्यायाधीश भित्रिंदा र बाहिरिंदा मात्र खोल्ने गरिन्थ्यो । अरु बेलामा भने बन्द नै हुने गर्दछ ।

सेवाग्राही र अन्य व्यक्ति प्रवेश गर्ने सडकतर्फको गेटमा दंगा नियन्त्रण गर्ने उपकरणसहित सुरक्षाकर्मीहरु परिचालित छन् ।

भित्री ढोका बन्द भएकाले अब आन्दोलनरत कानुन व्यवसायीहरुले सिंहदरबार पश्चिम गेट–माइतीघर खण्डको सडक प्रयोग गरेर सर्वोच्च अदालतमा धर्ना दिनुपर्ने छ ।

तर सो सडकखण्डमा निषेधाज्ञा जारी गरिएकाले त्यहाँ धर्ना प्रदर्शन लगायतका गतिविधि गर्न पाइँदैन ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरभित्रै प्रदर्शन गर्दै आएका छन् ।

बिहीबारको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा ६ जना कानुन व्यवसायीहरु घाइते भएपछि बारले आज प्रधानन्यायाधीशलाई प्रवेशमा रोक लगाउने आन्दोलन घोषणा गरेको थियो ।