मेहनत र इमान्दारी यी दुई मानिसका गुरू हुन्

आइतबार, २८ कार्तिक २०७८

काठमाडौँ – परिश्रम विना यस संसारमा कुनै पनि वस्तुको प्राप्ति संभव छैन । परिश्रमबाट हरेक चीजको प्राप्ति सम्भव छ । संसारमा त्यस्तो कुनै चीज छैन जुन परिश्रमी र दृढ निश्चयी व्यक्तिले पाउन सक्दैन ।

परिश्रमबाट हरेक काम फत्ते हुन्छ । मनले चाहेर मात्र केही पनि हुँदैन । सुतिराखेको सिंहको मुखमा हरिण आफै आउँदैन । उसलाई आहारा खोज्न दौड धूप त गर्नैपर्छ । तपाइँ खानेकुरा जुटाउनको लागि दौड धूप गर्नुहुन्छ ।

तपाइँ केही न केही त पक्कै पनि गर्नुहुन्छ, कर्मचारी हुनुहुन्छ, वा डाक्टर, वा इन्जिनीयर, मेनेजर, लेखक, अध्यापक, व्यापारी वा अन्य कोही । केही नगरी छाक टार्न त पक्कै पनि सकिंदैन ।

तपाईं ज्ञानको अभिलाषी हुनुहुन्छ भने तपाइँले कठोर परिश्रमपूर्वक अध्ययन गर्नुपर्ने हुन्छ । तर, तपाई खुशी चाहनुहुन्छ भने पनि त्यसको लागि तपाइले मेहनत त कुनै एक क्षेत्रमा गर्नैपर्दछ । विना परिश्रम त तपाइँ प्रसन्न रहन पनि सक्नुहुन्न ।

एउटा प्रसिद्ध विचारक श्रीमती ओसगुडको भनाइ छ, ‘काम चाहे जतिसुकै सुस्तरी गर, कसैको भलाइको लागि गर, मेहनत जस्तोसुकै होस सधैं शुभ र पवित्र हुन्छ । ठूला ठूला कार्य त वास्तवमा ईश्वरको पूजा हो ।’

त्यस्तै स्माइल्स भन्दछन्, ‘परिश्रमीले गर्व गर्न सक्दछ । सभ्यता परिश्रमकै देन हो ।’ इलियटको भनाइ छ, ‘परमानन्द प्राप्तिको लागि कति वर्ष लाग्दछ ? परिश्रमी व्यक्ति गन्नतिर लाग्दैन ।’

संसारमा यस्ता कैयौं व्यक्ति छन, जो साधारण परिवारमा जन्मेर गरिबी सहेर पनि आफ्नो लगन, परिश्रम र दृढ निश्चयको कारण विश्वप्रसिद्ध बन्न सफल भएका छन् । अमेरिकाका हेनरी फोर्डको जीवनी जसले पढेको छ उसले जान्दछ, उनी कसरी प्रसिद्ध उद्योगपति बन्न सफल भए । मोटर व्यवसायमा आज पनि फोर्डको नाम संसारमा सबैभन्दा अगाडि छ ।

न्यूयोर्कमा सायरस डब्ल्यू फील्डले एउटा साधारण मजदूरको रूपमा कारखानामा काम थालेका थिए । जो पछि गएर आफनो परिश्रमको बलले एक सफल व्यवसायीका रूपमा स्थापित भए । ए.टी. स्टिवार्ट पहिले एक साधारण उद्योगपति थिए । तर, परिश्रमको फलले उनी ठूलो उद्योगपति बन्न पुगे ।

अरबौं डलरको सम्पत्ति आर्जन गर्न उनी सफल भए । उनको उत्तराधिकारीलाई विना परिश्रम त्यतिका सम्पत्ति हात लागेको थियो । यसले उनीहरूलाई विलासी बनायो । उनीहरूले परिश्रम गरेनन् । परिणामस्वरूप उनीहरूले कारखाना बेच्नुपर्यो । कारखानाको ग्राहक थिए गरिब परिवारमा जन्मेर आफ्नो बलबुताबाट माथि उठेका एक युवक उद्योगपति । त्यो युवक कुनै समय खाली खुट्टा हिंडेर एउटा पुस्तक पसलमा काम गर्नको लागि जाने गर्दथ्यो । ती युवकको नाम थियो वानामेकर ।

फोर्ड, स्टीवार्ट र वानामेकर, यी यस्ता व्यक्तिहरू हुन्, जसले आफ्नै बाहुबलले सफलतापूर्वक त्यत्रा ठूला उद्योगका मालिक बन्न सके । यो एउटा वास्तविक तथ्य हो । मेहनत र इमान्दारी यी दुई मानिसका गुरू हुन् ।

यिनै गुरूमन्त्रको जप गर्दै एउटा सामान्य मानिस शिखरमा पुग्न सक्छ । माइकेलएजेलो जस्ता प्रर मूर्तिकार आफ्नो आयुको साठी वर्षमा पनि सिंगमरमा जस्तो कठोर चट्टानमा हथौडा र छिनो हानेर मूर्ति बनाइरहन्थे । उनको हातमा वयस्क युवकको भन्दा तगडा स्फूर्ति थियो ।

सैतिस वर्ष मात्र बाँचेका चित्रकार राफेलले आफ्नो जीवनकालमा दुई सय सतासी सुन्दर र अमूल्य चित्र तथा पाँच सयभन्दा बढी नक्सा बनाए । तिनैले उनलाई विश्वविख्यात बनाइदियो । यति छोटो आयुमा यतिका कार्य कुनै साधारण कुरा थिएन । यो उनको अनवरत परिश्रमबाटै संभव भएको हो ।

उनले दिन रात नभनेर आफ्नो कलाको साधना नगरेका भए यतिका सृजना सम्भव थिएन । उनको के भनाइ छ भने कला र विज्ञानको लागि जति बद्धिको आवश्यकता पर्दछ बुद्धिको लागि त्यति नै परिश्रम पनि आवश्यक पर्दछ ।

स्मारक, मूर्ति, कलाकृति र पुस्तकको रूपमा संसारमा हजारौ लाखौ यस्ता अजम्बरी कीर्तिहरू छन्, जुन सबै नै अनगिन्ती परिश्रमीहरूका पसिना र जागरणको जिउँदा नमूना हुन् ।