भीषण आगलागी हुँदा २० घर जलेर नष्ट

मंगलबार, ३० कार्तिक २०७८

काठमाडौँ – भीषणा आगलागी हुँदा २० घर जलेर नष्ट भएका छन् । यो खबर मुगुको हो ।

मुगुको सदरमुकाम गमगढी बजारमा गए राति भीषण आगलागी भएको छ।

आगलागीबाट २० घरटहरा जलेर नष्ट भएका छन् । थप आगो फैलन नदिन प्रहरीले एक घर भत्काउनुपरेको थियो।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले गए राति करिब १२ः३० मा आगलागी सुरू भएको र बिहान ४ः३० मा मात्रै नियन्त्रणमा लिइएको बताए।

‘स्थानीय ठिन्ले लामाको घरमा बालेर राखेको दियोबाट आगो फैलिएको अनुमान गरिएको छ,’ उनले भने, ‘प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा पानी र माटो प्रयोग गरेर चार घन्टापछि आगो नियन्त्रणमा लिइएको छ।’

आगलागीबाट घरबारबिहीन भएकाहरूलाई छिमेकीका घर र आफन्तकहाँ राखिएको छ। उनीहरूलाई राहत उपलब्ध गराउन दैवीप्रकोप उद्धार समितिको बैठक बसेको उनले बताए।

दमकल नहुँदा आगो निभाउन समस्या परेको उनको भनाई छ ।

‘दमकल थिएन। स्थानीयको सहयोगमा पानी र माटोले आगो नियन्त्रणमा लिनुपर्दा समय लाग्यो। थप आगो फैलन नदिन एउटा घर प्रहरीले नै भत्काउनुपर्‍यो,’ उनले भने।

आगलागी हुँदा करोडौँको क्षति भएको छ ।