नेपाल बन्दको प्रभाव देशभर

मंगलबार, ३० कार्तिक २०७८

काठमाडौँ – सरकारले गरेको मूल्य बृद्धि विरुद्धमा नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको आयोजना गरेको छ । बन्दले विहानैदेखि चल्ने स्कुल, कलेज, कलकारखाना बन्द छन् ।

छोटो तथा लामो दूरीमा चल्ने सार्वजनिक यातायातका साधानहरु संचालन भएका छैनन् । विहान ७ बजेसम्म त्यस्ता कुनै अप्रिय घटना नघटेको प्रहरीले जनाएको छ ।

घोषित नेपाल बन्द कार्यक्रममा सहयोग गर्न यातायात व्यवसायी लगायत सबैलाई नेकपाले आह्वान गरेको थियो ।

पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुमा भएको मूल्यवृद्धिको बिरोधमा नेपाल बन्द घोषणा गरिएको हो ।

केन्द्रीय प्रचार तथा प्रकाशन विभागका इञ्चार्ज प्रज्वलनले जारी गरेको विज्ञप्तिमा सम्पूर्ण पेसाकर्मी, उद्योगी, व्यवसायी, शैक्षिक संघ÷संस्थालाई सहयोग गरिदिन आग्रह गरेका छन् ।

विभागद्वारा जारी पत्रमा भनिएको छ, ‘सरकारले हालै महिना दिनभित्र ९ पटकसम्म पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘डिजेल, पेट्रोल, हवाइ इन्धन, ग्यास तथा दैनिक अत्यावश्यक उपभोग्य वस्तुमा भएको चर्को मूल्यवृद्धिले आमसर्वसाधारण किसान, श्रमिक, मजदुर मात्र नभई विद्यार्थी, शिक्षक–वुद्धिजीवी, कर्मचारीलगायत मध्यम वर्ग र व्यवसायीहरूको समेत ढाड सेक्ने निश्चित छ ।’

सरकारको गैरजिम्मेवार, जनविरोधी र ज्यादतीपूर्ण नीति तथा कार्यविरुद्ध आमजनताको आक्रोश र भावनाको प्रतिनिधित्व गर्दै विभिन्न आन्दोलनसहित भोलि नेपाल बन्दको घोषणा गरिएको विप्लव माओवादीले स्पष्ट पारेको छ ।

‘नेपाल बन्द हाम्रो रहर नभई बाध्यता हो,’ उनले भनेका छन् ।

आन्दोलनका कार्यक्रमहरूमा देशव्यापी ऐक्यबद्धता प्रकट गरी मूल्यवृद्धिको सशक्त प्रतिवाद गर्दै मूल्यवृद्धि खारेज गर्न सरकारमाथि चौतर्फी दबाब सिर्जना गर्नु हरेक क्षेत्रका नागरिकहरूको दायित्व भएको समेत उल्लेख गरिएको छ ।

नेपाल बन्दमा बन्दको अबज्ञा गर्नेलाई कडा कारवाही गरिने नेकपाले जनाएको छ । विहानदेखि बेलुका ५ बजेसम्म सार्वजनिक, निजी गाडि चलाउन रोक लगाइएको छ । यस्तो अवस्थामा गाडि चलाएको पाइए जलाउने बताइएको छ ।