काठमाडौँमा यस्तो देखियो बन्दको प्रभाव (फोटो फिचरसहित)
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ । देशभरका स्कुल, कलकारखाना, बजार, पसल र यातायातका साधवहरु बन्द छन् ।
यसको प्रभाव काठमाडौँमा पनि परेको छ । काठमाडौँमा विहान संचालन हुने स्कुल, कलेज पूर्ण रुपमा बन्द छन् भने कलकारखाना पनि ठप्प छन् । सार्वजनिक यातायात पूर्ण रुपमा बन्द छ भने बजार पनि खुलेको छैन् ।
एकाबिहानै बन्दका क्रममा नेकपाका केन्द्रीय सदस्य मोहन चन्द (आधार) सहित देशभर दर्जनौ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । काठमाडौँको महाराजगंजबाट युवा संगठनकी केन्द्रीय महासचिव विदुसीसहित तीन जना पक्राउ परेका छन् ।
सरकारले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक सामग्रीमा निरन्तर र अत्यधिक मूल्यवृद्धि गरेको विरोधमा नेकपाले आज एक दिन नेपाल बन्द घोषणा गरेको थियो ।
यसको प्रभाव देशभर परेको छ । नेकपाले आह्वान गरेको नेपाल बन्दमा काठमाडौं लगायतका मुख्य शहरमा यातायात कलकारखाना विद्यालय सबै ठप्प छन ।
आज बिहानै देखि लामो तथा छोटो दुरीका यातायात हरु पुर्णतः बन्द भएको छन् । यस्तै बन्दकर्ता एकाबिहानै चोकचोकमा भेला भयर मुल्यबृद्धी बिरुद्ध नाराबाजी गरिरहेका छन् ।
बन्दका क्रममा सरकारले व्यापक दमन गरेको छ ।
सरकारले भने बन्दअघि आयोजना गरिएका आन्दोलनहरूमा दमन गरेर व्यापक गिरफ्तारी र आतङ्क मच्चाएको छ । बन्दको प्रचार र जनजागरणका लागि आयोजना गरिएको चक्काजाममा हस्तक्षेप गरी सरकारले कयौँ आन्दोलनकारीलाई गिरफ्तार गरेर आफ्नो अलोकतान्त्रिक चरित्र सार्वजनिक गरेको छ । सरकारी दमन र आतङ्कको सर्वत्र आलोचना भएको छ ।
नेकपाले मूल्यवृद्धिविरुद्ध नेपाल बन्दलगायत आन्दोलनमा होमिन र मूल्यवृद्धि फिर्ता नभएसम्म सङ्घर्ष जारी राख्न आह्वान पनि गरेको छ । सरकारले एक महिनाभित्रै पेट्रोलियम पदार्थमा ९ पटक र एलपी ग्याँसमा ४ पटकसम्म मूल्यवृद्धि गरेर उपभोक्ताको ढाड सेकेको छ ।
सरकारी निर्णयले आमनागरिक आक्रोशित बनेका छन् । नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राजमोलगायत संसद्वादी दलको नेतृत्व र समर्थनमा शेरबहादुर देउवा नेतृत्वमा बनेको ‘काङ्माले’ सरकारले जनता उठ्नै नसक्ने गरी सबै क्षेत्रमा मूल्यवृद्धि गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको नेकपाले जनाएको छ ।
सरकारले पछिल्लोपटक पेट्रोलियम पदार्थमा प्रतिलिटर ३ रुपैयाँ (हवाई इन्धनमा ५ रुपैयाँ) र खाना पकाउने ग्याँसमा प्रतिसिलिन्डर ७५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ ।
यो मूल्यवृद्धिले सम्पूर्ण क्षेत्रमा मूल्यवृद्धि हुने तथा जनताको क्रयशक्ति घट्ने र मुद्रास्फीति झनै बढ्ने भएकाले मूल्यवृद्धिविरुद्ध आह्वान गरिएको नेपाल बन्दलगायत आन्दोलनका कार्यक्रम सफल पार्न नेकपाले आमजनसमुदायलाई आह्वान गरेको छ । सरकारले बढाएको मूल्य फिर्ता नलिएसम्म सङ्घर्ष जारी राख्न पनि नेकपाले आह्वान गरेको थियो । फोटो : राजेश पाठक








