मन्त्रीपरिषद् विस्तार, थप एक मन्त्रीको सपथ आजै
काठमाडौँ – मन्त्री परिषद् विस्तार भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज एक जना मन्त्रीलाई नियुक्ती गरेर मन्त्री परिषद् विस्तार गरेका हुन् ।
शाहीले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता चन्द्रबहादुर शाही नियुक्त गरेका हुन् । आजसम्म १ सदस्यीय मन्त्रीपरिषदबाट प्रदेश सरकार चलिरहेको थियो ।
उनलाई मुख्यमन्त्री शाहीले आजै नियुक्त गरी शपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेका हुन् ।
शाहीको अहिले साढे पाँच बजे प्रदेश शपथ ग्रहण हुने मुख्यमन्त्री जीवनबहादुर शाहीको सचिवालयले रातोपाटीलाई जानकारी दिएको छ।
मुख्यमन्त्री शाहीले झण्डै दुई सातापछि एउटा मन्त्रालयमा मात्र मन्त्री नियुक्त गरेका हुन् ।
कर्णालीमा नेकपा माओवादी केन्द्रको सरकार ढलेर कांग्रेसको नेतृत्वमा सरकार बनेको छ । गठबन्धनमा रहेको माओवादीले मन्त्रीहरुको नाम सिफारिस नगर्दा मन्त्रीपरिषद् विस्तारमा अबरोध हुँदै आएको छ ।
मुख्यमन्त्रीमा नियुक्त भएका शाहीले मन्त्रीपरिषद् विस्तार गर्न नसक्दा चर्को आलोचना भएको छ ।
माओवादी केन्द्रले आफ्नो सरकार चलाउन कांग्रेसले असहयोग गरेको भन्दै त्यसको बदला लिएको अर्थमा विश्लेषण भइरहेको छ ।
कांग्रेसले महेन्द्रबहादुर शाहीलाई राजीनामा दिन बाध्य पारेपछि माओवादी चिढिएको छ । अहिले सबैभन्दा ठूलो पार्टी भएको हेसियतले ७ ओटा मन्त्रालय मागेपछि तनाव सृजना भएको बुझिएको छ ।