एकाएक बेपत्ता भए कांग्रेस महामन्त्री शशांक कोइराला

बुधबार, १ मंसिर २०७८

काठमाडौँ – पार्टी सभापतिमा शेखर कोइरालालाई समर्थन गर्ने वचन दिएका कांग्रेस महामन्त्री डा। शशांक कोइराला बुधवार एकाएक संखुवासभा पुगेका छन् ।

नेताद्वयबीच मंगलवार १४ औं महाधिवेशनमा सभापतिमा शेखरलाई समर्थन गर्ने सहमति भएको थियो ।

मंगलवार भएको सहमति आज एक कार्यक्रम गरेर सार्वजनिक गर्ने तयारी भइरहँदा महामन्त्री कोइराला भने एकाएक बेपत्ता भएका छन् । पार्टीको कुनै कार्यक्रम नरहे पनि महामन्त्री कोइराला जिल्ला अधिवेशन सम्पन्न भइसकेको संखुवासभा पुगेका हुन् ।

शेखरको निवास बसुन्धारामा मंगलवार साँझ शशांकसहितको डिनर मिटिङ भएको थियो । मंगलवारको छलफलमा शशांकले सभापतिमा शेखरलाई सहयोग गर्ने सहमति जनाएका थिए ।

सोमवार सर्लाहीमा आयोजित एक कार्यक्रममा पनि शशांकले शेखरले आफूलाई कन्भिन्स गर्न सक्ने बताएका थिए । शेखर र शशांकबिच मंगलवार भएको सहमतिमा सुजाता कोइरालाको पनि समर्थन रहेको थियो ।

मंगलवार शेखर र शशांकबीच भएको सहमति अनुसार बुधवार (आज बिहान) शशांकको निवास महाराजगञ्जमा पत्रकार सम्मेलन गरेर सभापतिमा शेखरको उम्मेदवारी घोषणा गर्ने तय भएको थियो ।

बिहान ११ बजे पत्रकार सम्मेलन गर्ने र त्यसका लागि १०ः३० बजे शशांकको निवासमा तीन नेता भेट्ने सहमति भएको थियो । तर, बिहान साढे ८ बजे शशांकले फोन गरेर पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भेट्न बोलाएको जानकारी गराउँदै पत्रकार सम्मेलन अर्को हप्ता गरौंला भनेको स्रोतको दाबी छ ।

‘मंगलवार भएको सहमतिअनुसार आज बुधवार कोइराला परिवारको तर्फबाट सभापतिमा शेखरको उम्मेदवारी घोषणा गर्ने सहमति भएको थियो, अन्तिम समयमा आएर भाँडियो,’ कांग्रेसमा संस्थापनइतर समूहका एक नेताले लोकान्तरसँग भने ।

शशांकलाई संखुवासभा लैजाने काम कांग्रेसका जिल्ला सभापति दीपक खड्का र शशांकका पीए भरत तिवारीले व्यवस्थापन गरेको कांग्रेस स्रोतले बतायो । शुक्रवारसम्म शशांक संखुवासभामै रहने भन्दै जिल्ला सभापति खड्काले फेसबूकमा सन्देश लेखेका छन् ।

महामन्त्री कोइरालामा आएको नाटकीय परिवर्तनलाई कांग्रेसभित्र अर्थपूर्ण रूपमा हेरिएको छ ।

‘संस्थापन इतरबाट साझा उम्मेदवार तय गर्ने विषयमा छलफल चलिरहेको समयमा कोइराला परिवारका सदस्यबाट एक जनामा सहमति हुने कुराले उत्साही बनाएको थियो, तर महामन्त्री किन बिच्किनुभयो गम्भीर विषय छ,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने ।

सुजाता कोइरालालगायत केन्द्रीय सदस्यहरूले शशांकलाई फेरि पनि मनाउन कोशिश गर्ने भएका छन् ।

‘कुनै कार्यक्रमविना अचानक उहाँ किन काठमाडौंबाहिर जानुभयो, त्यसले हामीलाई अचम्मित तुल्याएको छ । प्रकारान्तरले यसले महामन्त्रीलाई नै घाटा पुग्छ,’ ती केन्द्रीय सदस्यले भने ।