ईश्वर पोखरेलले सुवास नेम्वाङलाई भने, ‘वकिलले पनि पार्टी चलाउँछ र ?’

आइतबार, १२ मंसिर २०७८

चितवन – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई मामुली वकिलको संज्ञा दिएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीबाहेक अरुलाई नेता नमान्ने अडानमा बसेका नेता नेम्वाङलाई पोखरेलले पनि नेता नभई मामुली वकिल भएकाले पार्टी चलाउन नसक्ने बताए ।

नेम्वाङले सहमतिको तीन विकल्प अघि सार्ने क्रममा यस्तो बताएका थिए ।

नयाँ नेतृत्व चयनका लागि सौराहमा चलिरहेको महाधिवेशनमा नयाँ कमिटीको नाम प्रस्ताव गर्ने सर्वाधिकार लिएका ओलीलाई नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङले ३०१ केन्द्रीय सदस्यको सूची बुझाएका छन् । तर पदाधिकारीमा सहमति जुट्न सकेको छैन ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र नेम्वाङको दाबी छ । नेम्वाङले ओली बाहेक अरुलाई नेता नमान्ने सन्देश प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईमार्फत पठाएका थिए ।

स्रोतका अनुसार राईसँग भएको भेटमा ओलीले उसो भए विकल्प के छ र ? भनेर सोधेका थिए । उनले भने नेम्वाङले अघि सारेको तीन विकल्प सुनाएका छन् ।

पहिलो : वरिष्ठ उपाध्यक्ष पद नै खारेज गर्ने ।

दोस्रो : दुई वरिष्ठ उपाध्यक्षको व्यवस्था गर्ने ।

तेस्रो : निर्वाचन ।

स्रोतका अनुसार नेम्वाङ बरु चुनाव लड्ने, तर पोखरेललाई नेता नमान्ने अडानमा छ ।

महासचिव पोखरेलले वकिलले पार्टी चलाउँछ ? भनेर आफ्नो अपमान गरेको भन्दै नेम्वाङले भनेका छन्, ‘वकिलले पार्टी चलाउँछ कि चलाउँदैन हेर्न निर्वाचनमा जाऊँ ।’