युवा तथा खेलकुद मन्त्री सहभागी कार्यक्रममा गोली चल्यो

आइतबार, १२ मंसिर २०७८

काठमाडौँ – महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह सहभागी कार्यक्रममा गोली चलेको छ ।

नेपाली कांग्रेसको जारी अधिवेशनमा गोली चलेको हो । यो सर्लाहीको खबर हो ।

नेपाली काँग्रेसको वडा अधिवेशनको क्रममा विवाद हुँदा गोली चलेको हो । सर्लाहीको बलरामा काँग्रेसको वडा अधिवेशनमा विवाद हुँदा गोली चलेपछि बलरा नगरपालिकाका २ वटा वडाको अधिवेशन रोकिएको छ ।

बलरा नगरपालिका वडा नम्बर ९ स्थित अचलगढमा वडा अधिवेशनका लागि डाकिएको छलफलको क्रममा प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह पुगेका थिए ।

उनले वडामा असन्तुष्टि जनाएपछि दुई पक्षबीच विवाद भएको थियो । विवादले उग्ररुप लिएपछि मन्त्री सिंहका अंगरक्षकले हवाई फायर नै गर्नुपरेको थिए ।

प्रहरीले अहिले स्थिति नियन्त्रणमा लिइसकेको जनाइएको छ । अहिले बलराको अवस्था सामान्य भइसकेको सर्लाहीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

विवादका कारण बलराको ८ र ९ नम्बर वडामा काँग्रेसको वडा अधिवेशन रोकिएको छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन जारी छ । केही जिल्लाहरुको महाधिवेशन सकिएको छ भने केही जिल्लामा भर्खर वडा अधिवेशन भइरहेको छ ।

१४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच कडा प्रतिश्पर्धा हुने देखिएको छ ।