धरापमा बागमतिका मुख्यमन्त्रीको पद, क्रिश्चियनको पक्षमा खुलेरै लागेपछि एक्सनमा उत्रियो कांग्रेस
काठमाडौँ – बागमति प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे विवादमा मुछिएका छन् । माधव कुमार नेपाल नेतृत्वको नेकपा एसबाट मुख्यमन्त्री बनेका पाण्डे विवादमा मुछिएपछि पद धरापमा परेको छ ।
उनले क्रिश्चियन धर्म प्रचार गर्न पाउँनु पर्ने पक्षमा अभिव्यक्ति दिएपछि नेपाली कांग्रेसका कट्टर हिन्दुवादी नेताहरु आक्रोषित भएका छन् । नेपाली कांग्रेस बागमति प्रदेश संसदीय दलका नेता इन्द्र वानीयाँले मुख्यमन्त्रीले बोलेको कुरा फिर्ता लिन पर्ने बताए ।
‘जबरजस्ती धर्म परिवर्तन गर्न पाइदैन् । संविधानमा हामीले यस्तो व्यवस्था गरेका छौँ ।’ उनले भने, ‘जबरजस्ती धर्म परिवर्तन गराएको पुष्टि भएपछि अदालतले सजाए तोकेको हो । गलतको पक्षपोषण गर्नु मुख्यमन्त्रीको बलण्डर हो । उहाँले आफुनो भनाई फिर्ता लिन पर्छ ।’
केहि दिन अघि मात्रै क्रिश्चियन धर्म प्रचार गरेको भन्दै पास्टनर केशव आचार्यलाई जिल्ला अदालत जुम्लाले जेल चलान गरेपछि बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले आपत्ती जनाएका थिए ।
पाण्डेले धर्म परिवर्तन गराएको अभियोगमा अदालको फैसलाबाट जेल हालिनुलाई लोकतन्त्र विरोधी कदमको संज्ञा दिँदै आपत्ति जनाएका थिए । लोकतन्त्रमा धर्म प्रचार गरेकै आधारमा कसैलाई यस्तो सजाय दिन नपाईने भन्दै पाण्डेले पास्टरको बचाउ गरेका छन् ।
नेपाल ख्रिष्ट्रियन समाज बागमती प्रदेश र मकवानपुर इसाई समाजको ख्रिष्टमस शुभकामना आदानप्रदान कार्यक्रममा बुधबार बोल्ने क्रममा उनले यसो भनेका हुन्।
‘जनताको ठूलो त्यागबाट गणतन्त्र र धर्म निरपेक्ष राष्ट्र निर्माण भएको छ,’ उनले भने, ‘धर्म परिर्वतन गरेको भनेर जेल हाल्नु सरासर गलत हो, यो लोकतन्त्रविरोधी कदम हो।’
पाण्डेले यसबारे बागमती सरकार गम्भीर रहेको बताउँदै केन्द्र सरकारमा पनि आवाज उठाउने दबी गरे। अहिले पाँच दलीय गठबन्धनको सरकारले कुनै पनि धर्ममाथि विभेद गर्ने नीति नलिएको पनि उनले बताए।
‘धर्म र संस्कृतिमा अरुभन्दा नेपाल पृथक र विशिष्ट छ’, उनले भने, ‘नेपाली समाज अरु देशभन्दा पृथक र छुट्टै पहिचानसहितको छ। सबै जाति, क्षेत्र, वर्ग र समुदायबीच घनिष्ठ सम्बन्ध छ। हामी सयौँ जातका फूलबारी भएपछि त्यही अनुसार व्यवहार पनि गर्नुपर्छ।’
उनले इसाईहरूका लागि चिहान बनाउने स्थान पनि खोजिदिने बताएका छन्। ‘इसाईहरुलाई चिहान अभावको विषयमा प्रदेश सरकार गम्भीर छ’, उनले भने, ‘यो समस्या चाँडै हल हुनेछ।’