प्रचण्डले खोलिदिए प्रधानन्यायाधीश जबराको पोल, सत्तारुढ गठबन्धनका नेताहरु नबोल्नुको रहस्य खुल्यो

बिहिबार, १६ मंसिर २०७८

मंसिर – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पोल खोलिदिएका छन् ।

बुधबार नेपाल बार एशोशिएसनको टोलीको ज्ञापनपत्र बुझ्दै प्रचण्डले जबराको पोल खोल्दै वकिलहरुको गुन तिर्ने बताएका थिए ।

उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको मामलामा युएनको समेत नाम उल्लेख गरे । न्यायालको पछिल्लो विषय अन्तर्राष्ट्रियकरण भइसकेको प्रचण्डको भनाई थियो ।

उनले युएन मिसनसँग पनि यसबारे कुरा गरेको खुलाए । उनले भने, ‘यूएन मिसनसँग कुरा गर्दा पनि यो विषय उठेको छ । यसबारे गम्भीर छौं भन्न खोजेका छौं ।’

प्रचण्डले खुलेरै जबराको विषयमा अन्तर्राष्ट्रिय दबाबबारे उल्लेख गरे । युएनको नाम उल्लेख गरेर प्रचण्डले अन्तर्राष्ट्रिय दबाबबारे उल्लेख गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

प्रचण्ड प्रधानन्यायाधीश जबरालाई हटाउन खुल्दै गएका छन् । उनले महाभियोगका लागि दबाब बढाएको समेत खुलेको छ ।

प्रचण्डले बारका प्रतिनिधिलाई भेटेकै भोलिपल्ट सत्ता गठबन्धनको बैठकले जबरालाई बिदामा बस्न सुझाव दिएको छ ।

जबरालाई हटाउने बाह्य शक्ति समेत लागेको चर्चा चलिरहँदा प्रचण्डले यस मामलामा युएनलाई समेत जोडेका छन् । विशेषगरी पछिल्लो समय अदालतभित्र बाह्य शक्तिको प्रवेश बढेको विषय चल्दै आएको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने अदालतभित्र विदेशीको घूसपैठ छ भन्ने खुलासा प्रचण्डको अभिव्यक्तिबाट प्रष्ट भएको तर्क गर्छन् ।

उनी भन्छन्,‘अहिले न्यायालयमा भएको प्रहारमा विदेशीको चलखेल छ भन्ने पुष्टि भयो ।’