कांग्रेसको ६१ जिल्ला अधिवेशन सम्पन्न, कसको पल्ला भारी ?

बिहिबार, १६ मंसिर २०७८

काठमाडौँ – नेपाली कांग्रेसको ६१ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लामा केन्द्रीय महाधिवेशनपछि मात्रै हुनेछ ।

प्रदेश २ का रौतहट, सर्लाही, सप्तरी, सिरहा, बारा, पर्सा, धनुषा र महोत्तरी जिल्लामा जिल्ला अधिवेशन भएको छैन। साथै कैलाली, अछाम, बाँके, नवलपुर, सिन्धुपाल्चोक, मकवानपुर, चितवन र सिन्धुलीमा पनि जिल्ला अधिवेशन हुन सकेको छैन।

‘यी जिल्लामा केन्द्रीय महाधिवेशनपछि मात्रै जिल्ला अधिवेशन हुन्छ,’ सचिव श्रेष्ठले भने। जिल्ला अधिवेशन सकिएका ६१ जिल्लामा भने वडा, पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्रको अधिवेशन पनि सकिएका छन्।

६१ जिल्लाका प्रतिनिधि सभा क्षेत्रबाट कांग्रेसले २६ जनाका दरले महाधिवेशन प्रतिनिधि पनि चयन गरिसकेको छ। ६१ जिल्लामा अधिवेशन हुँदा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कडा प्रतिस्पर्धा भएका थिए।

केही ठाउँमा भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत निकटहरू पनि प्यानलसहित नै प्रतिस्पर्धामा उत्रिएका थिए। काठमाडौंमा भने यसपटक पनि पूर्वमहामन्त्री प्रकाशमान सिंहले पकड कायमै राखेका छन्।

सिंहलाई साथ दिन केन्द्रीय सदस्य गगन थापा पनि आउँदा यो समूहले अधिकांश स्थान जितेको छ। १३८ वडामध्ये अधिकांशमा सिंह–थापा निकटले जितेका छन्। ११ पालिकामध्ये ९ मा सिंह–थापानिकट जितेका थिए।

२० प्रदेश सभा क्षेत्रमा १८ स्थानमा सिंह थापाले जिते भने १० प्रतिनिधि सभा क्षेत्रमध्ये ८ क्षेत्रमा यो जोडीले निर्वाचन जितेका थिए।

झापामा भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्मानिकट प्रतिस्पर्धामा उत्रिएका थिए। शर्माले पहिलेभन्दा यसपालि आफ्नो पक्षमा महाधिवेशन प्रतिनिधिलगायत पार्टी अधिवेशनमा पनि प्रभाव जमाएका छन् तर जिल्ला सभापति भने सिटौला पक्षले नै जितेको थियो।

यसपालि कांग्रेस नेताहरूले केन्द्रमा भन्दा पनि जिल्लाहरूमा स्थानीय आवश्यकता भन्दै भिन्नभिन्न गुटसँग सहकार्य पनि गरेका थिए। नवलपरासीमा सभापति देउवा र महामन्त्री शशांक कोइराला वरिष्ठ नेता पौडेल पक्षधरसँग चुनावी प्रतिस्पर्धामै उत्रिएका थिए।

काठमाडौंमा पनि सिंह(थापा निकटका प्यानलविरूद्ध सभापति देउवा, पूर्वमहामन्त्री सिटौला र नेता भीमसेनदास प्रधानले संयुक्त प्यानल नै बनाएका थिए। देउवा र सिटौला पक्षले काठमाडौं, काभ्रेलगायत क्षेत्रमा संयुक्त प्यानल बनाएको थियो। काभ्रेमा यो प्यानलले जिल्ला सभापति नै जितेको छ।

जिल्ला सभापति जित्नेमा सभापति देउवा अगाडि छन्। उनलाई नेता पौडेलले पछ्याइरहेका छन्। पौडेल पक्ष लुम्बिनी प्रदेशमा बलियो देखिएको छ भने अन्यत्र देउवा नै बलिया देखिएका छन्।

अहिलेसम्म आएका महाधिवेशन प्रतिनिधिमा आफूहरू पक्षको धेरै आएको देउवा पक्षको दाबी छ। तर संस्थापनइतर समूहबाट पनि हाराहारीमै महाधिवेशन प्रतिनिधि आएका छन्।

केही जिल्ला सभापतिहरू भने आफूहरू कुनै पक्षमा पनि नलागेको दाबी गर्छन्। सर्वसम्मत चयन भएका कतिपय जिल्लाका सभापतिहरू भने आफूनिकट रहेको दाबी देउवा, पौडेल र सिटौला पक्षकै रहने गर्छ।

कुन जिल्लामा कसले जिते?

देउवा पक्षले जितेका जिल्ला र सभापति:

लमजुङ, सभापति टकराज गुरूङ
सल्यान, सभापति केशवबहादुर विष्ट
डोल्पा, सभापति दीपेन्द्रबहादुर शाही
डडेल्धुरा, सभापति भीमबहादुर साउद
म्याग्दी, सभापति खमबहादुर गर्बुजा
ताप्लेजुङ, सभापति गजेन्द्रप्रसाद तुम्याहाङ
मुगु, सभापति ऐनबहादुर शाही
पाँचथर, सभापति रूपनारायण जवेगु
मनाङ, सभापति शंकर गुरूङ देउवा
हुम्ला, सभापति मोहनविक्रम सिंह
बझाङ, सभापति खड्क बोहरा
रामेछाप, सभापति पूर्णबहादुर (कान्छाराम) तामाङ
जुम्ला, सभापति कर्णबहादुर शाही
जाजरकोट, सभापति बेदराज सिंह
डोटी, सभापति नरेन्द्रबहादुर सिंह
रूकुम पश्चिम, सभापति प्रेमप्रकाश वली
ओखलढुंगा, सभापति तेजेन्द्र खनाल
पर्वत, सभापति युवराज जोशी
इलाम, सभापति डम्बरबहादुर खड्का
सुर्खेत, सभापति खड्ग पोखरेल
रूपन्देही, सभापति रामकृष्ण खाण
कास्की, सभापति किशोरदत्त बराल
काभ्रे, सभापति तीर्थ लामा
तनहुँ, सभापति जितप्रकाश आले
ललितपुर, सभापति जितेन्द्रकुमार श्रेष्ठ
कञ्चनपुर, सभापति पदम बोगटी
उदयपुर, सभापति हिमाल कार्की
भक्तपुर, सभापति दुर्लभ थापा
बर्दिया, सभापति अरूणप्रकाश सिंह राठौर
सोलुखुम्बु, सभापति नाम्गेल जाङ्बु शेर्पा
रसुवा, सभापति पेम्वाछिरिङ तामाङ
धनकुटा, सभापति दिनेश राई

वरिष्ठ नेता पौडेल पक्षले जितेका सभापति र जिल्ला:

प्युठान, सभापति विष्णुकुमार गिरी
अर्घाखाँची, सभापति केशव श्रेष्ठ
रोल्पा, सभापति किशोर आचार्य
बैतडी, सभापति चतुरबहादुर चन्द
दोलखा, सभापति बर्मा लामा
गोरखा, सभापति नन्दप्रसाद न्यौपाने
कालिकोट, सभापति अम्बबहादुर शाही
संखुवासभा, सभापति दीपक खड्का
रूकुमपूर्व, सभापति केशरमान रोका
मुस्ताङ, सभापति रोमीगौचन थकाली
भोजपुर, सभापति विनोद वान्तवा
बाजुरा, सभापति रामसिंह रावल
तेह्रथुम, सभापति अर्जुन तुम्बाहाम्फे
नवलपरासी पश्चिम, सभापति अर्जुनकुमार पोखरेल
पाल्पा, सभापति हिमालदत्त श्रेष्ठ
स्याङ्जा, सभापति राजु थापा
खोटाङ, सभापति विष्णुकुमार राई
दार्चुला, सभापति ललितसिंह बोहरा
नुवाकोट, सभापति रमेश महत
दाङ, सभापति शंकरप्रसाद डाँगी
दैलेख, सभापति मणिराम रेग्मी
गुल्मी, सभापति खिलध्वज पन्थी
काठमाडौं, सभापति कृष्णसबुज बानियाँ
धादिङ, सभापति रामनाथ अधिकारी
सुनसरी, सभापति केदार भण्डारी
कपिलबस्तु, सभापति अब्दुल कलाम खाँ
मोरङ, सभापति डिगबहादुर लिम्बू

पूर्वमहामन्त्री सिटौला पक्षले जितेका सभापति र जिल्ला:

झापा, सभापति देउमान थेवे
बागलुङ, सभापति जित शेरचन