वायु प्रदूषण बढेपछि अनिश्चितकालका लागि विद्यालय बन्द

बिहिबार, १६ मंसिर २०७८

काठमाडौं – वायु प्रदूषण बढपछि विद्यालयहरु अनिश्चितकालका लागि बन्द गरिएका छन् । यो भारतको राजधानी नयाँ दिल्लीको खबर ।

बिहीबार दिल्लीका वातावरण मन्त्री गोपाल रायले शहरको वायु प्रदूषण खराब बन्दै गएपछि शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने बताएका हुन् ।

प्रदूषणले बालबालीकालाई बढि असर गर्ने भएकाले विद्यालयहरु बन्द गरिएको दिल्ली सरकारले जनाएको छ ।

‘शहरको वायु प्रदूषणको अवस्थाका कारण दिल्लीका सबै विद्यालय भोलिदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिने छ’, रायलाई उदृत गर्दै भारतीय समाचार माध्यम एएनआईले लेखेको छ ।

भारतको सर्वोच्च अदालतले बिग्रँदो वायु प्रदूषणबीच बालबालिकाका लागि भौतिक कक्षा सञ्चालन गर्ने केजरीवाल नेतृत्व सरकारको आलोचना गरेपछि शुक्रबारदेखि सबै विद्यायल बन्द गरिन लागिएको हो ।

बुधबार अदालतले ‘वयस्कहरूले घरमै बसेर काम गरिरहेका बेला बालबालिलकालाई भने विद्यालय जान बाध्य पारिएको’ भन्दै दिल्ली सरकारमाथि सवाल उठाएको थियो ।

पछिल्ला केही हप्तायता दिल्लीको वायु प्रदूषणमा कुनै सुधार नआएको पनि अदालतको भनाइ थियो ।

त्यस्तै, अदालतले केन्द्र सरकारलाई २४ घण्टाभित्र वायु प्रदूषण नियन्त्रणसम्बन्धी योजना ल्याएर कार्यान्वयन गर्न समेत भनेको छ ।

नयाँ दिल्ली सहर विश्वको सबैभन्दा धेरै प्रदूषण भएको सहरका रुपमा परिचित छ । त्याँ बायु प्रदूषणकै कारण बर्षेनी हजारौँको मृत्यु हुने गरेको छ ।