अखिल नेपाल क्रान्तिकारी चलचित्रकर्मी संघको अध्यक्षमा विवेक सापकोट निर्वाचित
काठमाडौँ – अखिल नेपाल जनसांस्कृतिक महासङ्घको आङ्गिक सङ्गठन अखिल नेपाल क्रान्तिकारी चलचित्रकर्मी सङ्घको राष्ट्रिय भेला काठमाडौँमा सम्पन्न भएको छ ।
भेलाले विवेक सापकोटाको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सङ्घको उपाध्यक्षमा जीवि आग्री, कालु राणा, अर्जुन भुसाल, जीवन श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यस्तै, संघको महासचिवमा संजोक राणा निर्विरोध निर्वाचित भएका छन् भने सचिवमा अशोक कठायत, राजबहादुर साने, संजय थापा चयन भएका छन् ।
काठमाडौँमा सम्पन्न भेलाले कोषाध्यक्षमा राहुल बराइलीलाई निर्वाचित गरेको छ । नेकपाका सचिवालय सदस्य धर्वेन्द्र बास्तोल (कन्चन)को प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले अरु २१ सदस्यीय कार्यसमिति निर्माण गरेको छ ।
कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित महासंघका अध्यक्ष माइला लामा ‘प्रज्वल’ले नेपालमा मात्र होइन विश्व बजारमा चलचित्रको अबस्था दयनीय भएकाले त्यसको समाधानको उपाय खोज्नुपर्ने बेला आएको बताए ।
‘नेपालमा मात्र चलचित्रको अवस्था खस्किएको छैन । यो विश्वभरको चलचित्र बजारको समस्या हो ।’ भेलालाई सम्बोधन गर्दै प्रज्वलनले भने, ‘यो समस्याको समाधान गर्न अरु कसैले सक्दैन् । त्यो समाधान हामीले मात्र गर्न सक्छौँ ।’


