ईश्वर पोखरेलमाथि ओलीले चलाए डण्डा, सुवास नेम्वाङ पनि आउट
काठमाडौं – एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलमा डण्डा चलाएका छन् । आफूनिकट नेताहरु सम्मिलित नयाँ ‘कोर टिम’ को अभ्यास गर्दा पोखरेललाई आउट गरेर नयाँ टिम खडा गरेका छन् ।
जसमा उनीसहित ६ नेता छन् । महाधिवेशनबाट पदाधिकारीमा निर्वाचित १९ नेतामध्ये आफ्ना विश्वासपात्र समेटेर ओलीले उक्त टिम बनाएका हुन् ।
ओलीनिकट स्रोतहरुका अनुसार उक्त टिममा उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल छन् ।
अब एमालेका सबैजसो निर्णयमा यीनैले ओलीको निर्देशनअनुसार कार्यकारी भूमिकामा काम गर्ने केही नेताहरूको भनाइ छ।
त्यसो त वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङ पनि ओलीनिकट मानिन्छन्।
उनीहरुसँग ओलीले सरसल्लाह लिने नै भए तर अन्तिम निर्णय भने ‘कोर टिम’ बाट हुँदै जाने नेताहरू बताउँछन् ।
दसौँ राष्ट्रिय महाधिवेशनबाट पदाधिकारीसहित ३ सय १ केन्द्रीय सदस्य चयन गर्न पनि ओलीले यीनै मध्येका चार नेता– विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङलाई जिम्मा दिएका थिए ।
उनीहरु सौराहाको होटल पार्क सफारीमा पनि ओलीसँगै बसेका थिए ।
ओलीनिकट एक नेताले दिएको जानकारीअनुसार यो टोलीले अहिले स्थायी कमिटी र पोलिटब्युरो गठनको गृहकार्य गरिरहेको छ ।
जसबारे मंसिर २५ गते बस्ने केन्द्रीय कमिटी बैठकबाट निर्णय गर्ने ओलीको तयारी छ ।