कांग्रेस महाधिवेशनका लागि उमेश श्रेष्ठले दिएको पैसा भरियाले समेत बोक्न सकेनन्
काठमाडौँ – नेपाली कांग्रेसको १४औं महाधिवेशन भोली दिउँसो १ बजे भृकुटीमण्डपमा उद्घाटन हुँदैछ ।
कांग्रेसले करिब चार हजार पाँच सय महाधिवेशन प्रतिनिधिलाई काठमाडौंमा बिहीबार साँझदेखि मंसिर २७ गतेसम्म बसोबास र खानाको व्यवस्था गरेको छ । बिहान र बेलुकी महाधिवेशन स्थलमै खाना खुवाउने व्यवस्था छ।
महाधिवेशन प्रतिनिधिलाई राख्न ठमेल, सुन्धारा र गौशालामा गरी करिब सयवटा होटल बुकिङ गरिएका छन्। खाना र बसोबासका लागि मात्रै कांग्रेसले साढे ३ करोड रूपैयाँ खर्च लाग्ने बताएको छ।
महाधिवेशन अवधिभर सात करोड रूपैयाँ खर्च लाग्ने कांग्रेस केन्द्रीय समितिले गठन गरेको आर्थिक समितिले अनुमान गरेको छ। त्यसैनुसार पैसा जुटाउने कामसमेत भएको छ।
कांग्रेसले महाधिवेशनका लागि चन्दा नउठाउने भएको छ। सञ्चारमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको नेतृत्वमा आर्थिक समिति बनेको छ। समितिमा रहेका सदस्यहरूबाटै सुरूमा आर्थिक सहयोग लिइएको छ।
‘पार्टीले महाधिवेशनका लागि गठन गरेको आर्थिक समितिमै रहेका साथीहरूबाट पैसा उठाएका छौं। चन्दा नउठाउने, धेरैलाई दुस्ख नदिने भन्ने छ,’ समितिका एक सदस्यले भने।
महाधिवेशनका लागि आवश्यक ७ करोड खर्च व्यवस्थापन गरिसकिएको उनको भनाइ छ।
‘क्रियाशील सदस्यता वितरण र नवीकरणबाट उठेको पैसा हामीले हिसाब गरेका छैनौं,’ उनले भने, ‘हामीले आफैं-आफैं खल्तीबाट पैसा हालेका छौं। क्रियाशीलको शुल्क पार्टीकै खातामा होला।’
‘हामीलाई कुल ९ करोड आवश्यक पर्छ भनेका थिए तर अहिले ७ करोड सुनिश्चित भइसकेको छ,’ ती नेताले भने, ‘थप आवश्यक पर्यो भने अन्यत्रबाट पनि सहयोग लिन्छौं।’
राज्यमन्त्रीसमेत रहेका नेता उमेश श्रेष्ठले ५० लाख भन्दा धेरै पैसा दिएका श्रोतको दावि छ । सिंहदरवारमा उमेश श्रेष्ठले दिएको पैसा, पैसा लिन आएका भरियाले समेत बोक्न नसकेको भन्दै चल्ला चलेको छ ।
त्यस्तै, सांसद विनोद चौधरीले २५ लाख र नेता जीपछिरिङ लामाले २५ लाख रूपैयाँ महाधिवेशन गर्न खर्च दिएको स्रोतले जानकारी दियो।
‘कसैले २५ लाख त कसैले ५० लाखसम्म पनि दिएका छन्,’ ती नेताले भने, ‘अहिलेसम्म सात करोड उठिसक्यो, थप चाहियो भने पनि व्यवस्थापन हुन्छ।’