ज्योतिषले जुराएकै साइतमा कांग्रेस महाधिवेशन उद्घाटन हुने, कति बजे जुर्यो साइत ?

शुक्रबार, २४ मंसिर २०७८

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन आजबाट सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन ज्योतिषले दिएको साइतमै हुने भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा हुने उद्घाटन सत्रको साइत आज दिउँसो १ बजेका लागि जुराइएको दक्षिण एसीयाली ज्योतिष महासंघ नेपालका महासचिव तथा वास्तुविद् सुरेशचन्द्र रिजालले जानकारी दिए ।

‘कांग्रेस महाधिवेशन उद्घाटनको साइत मैले हेरिदिएको हुँ,’ उनले भने, ‘शुक्रबार दिउँसो १ बजेका लागि जुराइएको छ ।’

महाधिवेशनको उद्घाटन दिउँसो १ बजे शुभ योगको संयोग पारेर समय निर्धारण गरिएको उनले बताए ।

महाधिवेशन उद्घाटन पञ्चाङ्गअनुसार मंसिर शुक्लपक्षको सप्तमी तिथि, शतभिषा नक्षत्र र सौम्य योगा, चन्द्रमा कुम्भ राशि तथा चन्द्रमा पश्चिम दिशामा रहेको अवस्थामा हुन लागेको ज्योतिष रिजालले बताए ।

उनका अनुसार महाधिवेशनपछि विदेशी शक्ति सन्तुलनमा रहने योग पनि रहेको छ ।