सभापतिमा देउवासहित आधा दर्जनले दिए उम्मेदवारी, कसको प्यानलमा को ?

शनिबार, २५ मंसिर २०७८

काठमाडौँ – नेपालीकाँग्रेसको १४औँ महाधिवेशनका लागि आधा दर्जन नेताले सभापतिमा उम्मेदवारी दिएका छन् । सभापति शेरबहादुर देउवासहित विमलेन्द्र निपध, प्रकाशमान सिंह, शेखर कोइराला र युवराज न्यौपानेले सभापतिमा उम्मेदवारी दिएका हुन् ।

देउवाले टिमै बनाएर अर्को कार्यकालका लागि उम्मेदवारी दर्ता गरेका छन् । बालुवाटारमा बसेको देउवा पक्षको बैठकले उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै महामन्त्रीमा प्रदीप पौडेल र प्रकाशशरण महतको नाम फाइनल भएको छ । देउवाले सभापतिमा उम्मेदवारी दर्ता गराउँदा समर्थकमा बालकृष्ण खाँण र प्रस्तावकमा कृष्ण सिटौला हुनेछन् ।

यसैगरी देउवा टीमबाट सहमहामन्त्रीमा जनजातीबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेसीबाट महिन्द्र यादव, खस आर्यबाट किशोर सिंह राठौर, थारुबाट उमाकान्त चौधरी, मुस्लिमबाट फर्मुल्लाह मन्सुर उम्मेदवार रहने भएका छन् ।

यस्तै पिछडिएको क्षेत्रबाट जीवन शाही र महिलाबाट डिना उपाध्याय सहमहामन्त्रीको उम्मेदवार टुंगो लागेको एक नेताले जानकारी दिए ।

त्यस्तै शेखर कोइरालाले पनि टीम बनाएरै उम्मेदवारी दर्ता गराएको छ । शनिबार दिउँसो नेताहरुको छलफलले सभापतिमा शेखर कोइराला, उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापा रहने गरी पदाधिकारी टुंगो लगाएको थियो ।

सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट वकिल मियाँ उम्मेदवार बनेको एक नेताले जानकारी दिए ।

यता प्रकाशमान सिंहले पनि प्यानल बनाएका छन् । उनको प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

शर्मा लामो समय सभापति शेरबहादुर देउवाको प्यानलमा रहेका थिए । केही महिनाअघि नै महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका शर्माले देउवा पक्षको प्यानलमा पर्न नसकेपछि शेखर कोइरालाको प्यानलमा बस्ने पहल गरेका थिए ।

तर त्यो पनि सम्भव नभएपछि उनी अन्तिममा सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका हुन् ।

यता, सभापतिमा गोरखाका युवराज न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् । न्यौपाने गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन ।