भर्खरै निर्वाचित कांग्रेसका उपसभापति पक्राउ

आइतबार, ४ पौस २०७८

काठमाडौँ – नेपाली कांग्रेसको १४औं महाधिवेशन अझै सकिएको छैन् । कांग्रेस उपसभापतिमा भर्खरै निर्वाचित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । यो रुपन्देहीको खबर हो ।

नेपाली कांग्रेसका सिद्धार्थनगर पालिकाका उपसभापति एवम् वडा नम्बर—७ का वडा सदस्य किरण घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरिएको बुझिएको छ ।

यद्यपि यो विषयमा प्रहरीले औपचारिक रुपमा बोलेको छैन् । उनलाई सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ मा रहेको उनकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अहिले अनुसन्धानकै क्रममा रहेको हुँदा थप कुरा पछि मात्र बताउन मिल्ने रुपन्देही प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए ।

गृहमन्त्री बालकृष्ण खाँणका नजिकका व्यक्ति भएका कारण प्रहरीले समेत विषय लुकाउन खोजेको आरोप छ ।

त्यस्तै, धनुषाको मिथिला नगरपालिका ६ स्थित ढल्केबरबाट प्रहरीले गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको विहार राज्य मधुवनी जिल्ला खिरहर थाना हिसार ग्राम पञ्चायत ४ का २२ वर्षीय विजयकुमार महतो रहेका छन् ।

प्रहरीका अनुसार शनिबार शनिबार साँझ महतोसहित पाँचजनाले बीआर ३२ के ९१२७ नम्बरको स्कार्पियोमा गाँजा बोकेर बर्दिबासबाट ढल्केबरतर्फ गइरहेका थिए ।

प्रहरी टोली पुग्दा उनीहरू गाँजा सडकमा फालेर भाग्न खोजेपछि स्कार्पियो दुर्घटना भएको छ ।