धुर्मुस सुन्तलीमाथि अर्को ब्रजपात, यस्तो दशा त कहिल्यौ पनि लागेको थिएन
काठमाडौँ – धुर्मुस सुन्तलीलाई अर्को ब्रजपात आइलागेको छ । चितवनमा बनाउँदै गरेको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक अभाव भएर तनावमा रहेको उनीहरुलाई अर्को ब्रजपात भएको हो ।
लामो समयदेखि विजुलीको बिल नतिरेपछि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले धुर्मुस सुन्तली फाउन्डेसन र माउन्ट एभरेष्ट ब्रुअरीको लाइन काटिदिएको छ ।
भरतपुर महानगरपालिका–१६ मा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि धुर्मस सुन्तली फाउण्डेशनले लिएको विद्युतको बक्यौता रकम नतिरेकोले लाइन कटिदिएको प्राधिकरणका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए ।
इन्जिनियर पौडेलका अनुसार फाउण्डेशनले आठ लाख ८७ हजार रुपैयाँ बक्यौता प्राधिकरणलाई तिर्न बाँकी छ ।
त्यस्तै मदिरा उत्पादक कम्पनी माउन्ट एभरेस्ट ब्रुअरीले ३७ लाख ४१ हजार ३ सय १७ रुपैयाँ तिर्न बाँकी छ । बुधबार मात्र १२ वटा फर्म तथा संघसंस्थाको विद्युत लाइन काटिएको इन्जिनियर पौडेलले बताए ।
विद्युत लाइन काट्न पुगेका प्राधिकरणका कर्मचारीहरुलाई माउन्ट एभरेस्ट ब्रुअरी उद्योग परिसरमा प्रवेश गर्न नदिई तीन जना चौकीदार लगाएर लखेट्ने प्रयास गरिएको इन्जिनियर पौडेलले बताए ।
उद्योगभित्र पसेर लाइन काट्न नदिएपछि उद्योगको कम्पाउण्डबाहिर नै जम्पर खोलेर लाइन काटिएको प्राधिकरणले जनाएको छ ।
भरतपुर महानगरपालिकाले उपलब्ध गराएको जग्गामा धुर्मुस–सुन्तलीले नेपाली जनताको प्रत्याक्ष सहभागिता र सहयोगमा उक्त रङ्गशाला निर्माण सुरु गरेका थिए ।
आर्थिक अभाव भएको भन्दै केही दिनदेखि निर्माणकार्य अवरुद्ध भएको छ । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले १७ करोड ऋण लागेका बताउने गरेका छन् ।