म लगानीकर्ताको पक्षमा छु : प्रचण्ड
काठमाण्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले नेपालको शेयर बजार सिद्धिनुपर्यो भन्न नखोजेको बताएका छ । आज बिहीवार न्युज एजेन्सीसँगको अन्तर्वार्तामा उनले भने, ‘मैले नेपालको शेयर बजार सिद्धिनुपर्यो भन्न खोजेकै होइन ।
‘म त लगानीकर्ताको पक्षमा छु । मैले कसैलाई अहिले भर्खरै घाटा पार्न खोजेको हो र त्यस कारण त्यो कुरा होइन, कुरा अलि ठूलो हो भन्न चाहन्छु ।’, उनले भने
अध्यक्ष प्रचण्डले आफूले पुँजीवादबारेमा ठूलो सैद्धान्तिक बहस गर्न खोजेको प्रष्ट पारे । नेपालको रणनीतिक रूपले कुन बाटो समात्नुपर्ला भन्ने बहस उठाउन खोजेको भन्दै उनले भने , ‘’मैले अस्ति जे व्याख्या गरेँ र निकै ठूलो तरङ्ग पनि आयो भनियो । मैले नबुझेर बोलेको भन्ने छ ।’
‘मैले एउटा अन्तर्राष्ट्रिय स्तरका प्रवृत्तिहरू भनेको हो । अन्तर्राष्ट्रिय आर्थिक प्रवृत्तिहरू के छ, पुँजीवादले कस्तो प्रवृत्ति बढाइरहेको छ हामी समाजवादीले अब कस्तो प्रवृत्तितिर र कस्तो योजनातिर सोच्नुपर्छ भनेर गरेको व्याख्यालाई नेपालको अहिले भर्खरकै संरचनामाथि हमला गरेको हो भनेको जस्तो गरी बुझियो ।’
‘प्रचार गरियो । जानीबुझी कतिपयले त्यसलाई तोडमोड गरे । मेरो त्यो होइन । म त अहिले पनि भन्छु, पुँजीवाद अहिले वित्तीय पुँजीवादको रूपमा देखिएको छ । नाफा कमाउनु तिनीहरूको मूल ध्येय छ ।’
‘पुँजीको लगानी उत्पादनमूलक कार्यमा भन्दा छिटो पैसा आउने काममा लागेको छ । छिटो पैसा त्यहाँबाट आउँछ । वा अरू त्यस्ता मुद्राबाट मुद्रा कमाउने । पैसाको लगानी पैसाको लागि गर्ने, उत्पादनको लागि नगर्ने, प्रवृत्ति हाबी छ भन्न खोजेको हो मैले ।’
‘अन्तर्वार्ताकै क्रममा अध्यक्ष प्रचण्डले विदेशी सहायता, विदेशी अनुदान, विदेशी सामान भित्र्याउने अनि आफ्ना युवाहरूलाई विदेश पठाएर, रेमिट्यान्स ल्याएर देश चलाउन खोज्ने कुराले यो देश र नागरिकको स्वतन्त्रता र समृद्धिलाई मद्दत नगरेको बताएका छन ।’
‘यही गरिराख्ने हो भने यो देशको तरक्की हुँदैन । हामी आफ्नो खुट्टामा टेकेर आफ्नै प्राकृतिक साधन स्रोतको सदुपयोग गरेर आफ्नै श्रम र पौरखमा बाँचेका छौँ भन्न सक्दैनौँ । अहिले नेपालीहरू विश्वको कुनै पनि देशको एअरपोर्टमा गयो भने नेपाली भन्नेबित्तिकै सम्मान गर्दैनन् । किनकि हामी पछाडि परेका छौँ । त्यस कारण यो नीति बदल्नुपर्छ भन्ने मेरो भनाइ हो’, उनले भने ।