मन्त्री झाँक्रीले दिइन् राउटे युवतीलाई यति ठूलो उपहार
काठमाडौँ – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राउटे युवतीसँग मित लगाएकी छन् । पूर्वीसुर्खेतको सिम्ता गाउँपालिका–४ स्थित भेरी नदी किनारको कानीखोलामा बस्दै आएका राउटे समुदायको बस्तीमा पुगेर झाँक्रीले मित लगाएकी हुन् ।
राउटे युवाहरु सिमलको रुख ढालेर काठका भाँडावर्तन बनाउँदै गर्दा रामकुमारी त्यहाँ पुगेकी थिइन् । राउटे युवती गाजलु, लोकेन्द्र र प्रकाशको घर अझ सफा थियो।
राउटे समुदायका लागि घर बनाउने विषयमा छलफलका लागि आएकी झाँक्रीले गाजलु र सहरी तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले लोकेन्द्र र नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले राउटे युवा प्रकाश शाहीसँग मित लगाका छन् ।
मित लगाउनका लागि मन्त्री झाँक्री र महानिर्देशक मैनालीले काठमाडौंबाट आवश्यक कोशेली ल्याएका थिए। मितलाई दिनका लागि गाजलु, लोकेन्द्र र प्रकाशले पनि काठका भाँडा तयार गरेका थिए।
राउटे समुदायले मित साइनोलाई धेरै महत्व दिन्छ । यो समुदायसँग छिट्टै घुलमिल हुनका लागि पनि धेरैले मितेरी साइनो गास्ने गर्छन्। मन्त्री झाँक्रीले गाजलुलाई फूलको मालासँगै श्रृङ्गारका सामग्री र केही खाने कुरा कोशेली दिइन्।
गाजलुले सिमलको काठबाट बनाइएको कोसी दिइन्। ‘अब काठमाडौं गएका बेला पनि मितिनीसँग भेट हुने भयो,’ गाजलुले भनिन्, ‘मन्त्रीको मितिनी हुन पाउँदा धेरै खुशी लागेको छ।’
मित लगाएपछि मन्त्री झाँक्रीसँग गाजलुले छुट्टै कुराकानी गरिन्। मोवाइल नम्वर मागिन्। बेला–बेलामा भेट्न आउन आग्रह गरिन्। ‘राउटे समुदायमा मितेरी साइनोलाई धेरै महत्व मानिदो रहेछ,’ मन्त्री झाँक्रीले भनिन्, ‘साइनो अनुसारको भूमिका निभाउने प्रतिवद्धता जनाएकी छु।’
लोकेन्द्रले पनि विभागका महानिर्देशक मैनालीलाई कोसी र काठकै डाडु दिए। ‘यो मितको चिनो हो, नभुल्नु होला, मितिनीलाई भेट गराउन ल्याउनु होला,’ काठका सामग्री दिँदै उनले भने, ‘रगतको नाता भन्दा पनि मितको नातालाई ठूलो मान्नुहोला।’
एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले आफ्नै नाम मिल्ने प्रकाश शाहीसँग मितेरी साइनो गासे। उनले आफूले लगाएको उनको टोपी मितलाई लगाइदिए, मितले लगाएको ढाकाकोे टोपी आफूले लगाए।
ज्वालाको घर र निर्वाचन क्षेत्र राउटे बस्दै आएको अहिलको ठाउँ भन्दा भेरी पारी हो। उनले राउटे समुदायलाई आफ्नो जिल्लामा आएर बस्न आग्रह पनि गरे।