नारायणहिटी क्याफे निर्माणमा मिलेमतो तत्काल छानबिन समितिले आलेलाई बुझाए प्रतिवेदन

सोमबार, २६ पौस २०७८

काठमाडौँ –नारायणहिटी दरबार संग्रहालयमा क्याफे सञ्चालन गर्नेबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिले मन्त्री प्रेमबहादुर आलेलाई सोमबार प्रतिवेदन बुझाएको छ।

मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेल संयोजक रहेको प्रतिवेदनले नारायणहिटी क्षेत्रको १४ रोपनी क्षेत्रमा अवैधानिक तरिकाले बनाइएको क्याफेको संरचना निर्माण तत्काल रोक्न सिफारिस गरेको छ। उक्त प्रतिवेदन समितिले कार्यान्वयनका लागि मन्त्री आलेलाई हस्तान्तरण गरेको हो। प्रतिवेदनमा उक्त क्याफे निर्माण गर्ने क्रममा एउटै परिवारभित्रका सेयर सदस्यहरु रहेको बतास समूहका तीनवटा संस्थाले प्रतिष्पर्धामा भाग लिएकाले ठेक्का सम्झौतामा मिलेमतो भएको उल्लेख छ।

प्रतिवेदनमा क्यान्टिन र क्याफ्टेरिया निर्माण गर्न स्पष्ट क्षेत्र नदिइएको, दक्षिणपट्टिको प्रवेशद्वार नजिकै रहेको जग्गामा समितिको कुनै जानकारीबिनै निर्माण कार्य अगाडि बढाइएको, निर्माण रोक्न कुनै पहल नभएको, क्यान्टिन र क्याफ्टेरिया भाडामा चलनचल्तीको बजारमूल्यलाई आधार नबनाइएकोलगायत निष्कर्श निकालिएको छ।

नारायणहिटी दरबार संग्रहालयमा बनाइएको उक्त संरचना अनुमति पाएभन्दा बढी क्षेत्रफल जग्गामा स्वीकृत नलिई निर्माण गरेको देखिएको पनि प्रतिवेदनमा उल्लेख छ।