आज बस्ने भनिएको सत्तारुढ गठबन्धनको बैठक किन भयो स्थगित

बिहिबार, ६ माघ २०७८

काठमाडौं – आज बस्ने भनिएको सत्तारुढ गठबन्धनको बैठक स्थगित भएको छ । आज दिउँसो ४ बजे बस्ने भनिएको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको कार्य व्यस्तताको कारण स्थगित् भएको एक नेताले जानकारी दिए ।

आज बस्ने भनिएको बैठकमा निर्वाचन ऐन संशोधन, तीनै तहका निर्वाचन तथा स्थानीय निकायको निर्वाचन पहिला गरेर पछि संसद र प्रदेशसभाको निर्वाचन गर्ने प्रस्ताव आजको बैठकका मुख्य एजेण्डा रहेको थियो ।

आगामी जेठ ५ गते स्थानिय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्ये नजर गर्दै सत्तारुढ दलको बैठक बस्न लागेको थियो ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच हिजो भेटवार्ता भएको थियो । भेटघाटको क्रममा स्थानीय तहको निर्वाचनको मिति तोक्ने लगायतका विषयमा छलफल भएको स्रोतले बतायो।

स्थानीय तहको निर्वाचनको मिति तोक्ने सत्ता गठबन्धनलाई टाउको दुखाइको विषय बनेको छ। मंगलबार बसेको सत्ता गठबन्धको बैठकले वैशाखमै निर्वाचन गर्ने सहमति भए पनि मितिको टुंगो लगाउन सकेको छैन। सोही विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा चुनाव केन्द्रीत वार्ता भएको बताइएको छ।

‘प्रधानमन्त्री देउवा र प्रचण्डबीच स्थानीय तहको निर्वाचन केन्द्रीत छलफल भएको हो। वैशाखमै गर्नुपरे कति गते गर्ने वा सार्नपरे कहिलेलाई सार्ने विषयमा छलफल केन्द्रीत रहेको थियो,’ खुमलटार स्रोतले भन्यो। प्रधानमन्त्री देउवा र प्रचण्डबीच गम्भीर छलफल भएको बताइएको छ