सतहमा आयो समाजवादी पार्टीको विवाद, समानान्तर कमिटी गठन

आइतबार, ९ माघ २०७८

काठमाडौँ – सत्तारुढ जनता समाजवादी पार्टी नेपाल (जसपा)को विवाद सतहमै देखिन थालेको छ । पार्टीका असन्तुष्ट पक्षले समानान्तर समितिनै बनाउन थालेपछि विवादले उग्र रुप लिएको हो ।

पछिल्लो समय पर्सा जिल्लामा दुई समूहले बेग्लाबेग्लै जिल्ला समन्वय समिति गठन गरेका थिए । सो विवादका बारेमा पार्टीको मधेस प्रदेश समिति पनि विभाजित देखिएको छ ।

संस्थापन पक्षसँग असन्तुष्ट रहेको समूहले माघ २ मा मञ्जुर अन्सारीको अध्यक्षतामा नयाँ जिल्ला समिति गठन गरेको थियो । जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव पक्षधर रहेका पूर्व अध्यक्ष रामनरेश यादव पक्षले भने गत शुक्रबार नै अलग्गै भेला गरी जिल्ला समिति पुनर्गठन गरेको थियो ।

जसपाको मधेस प्रदेश समितिका मुख्य सचिव दिनेश कुमार यादवले शनिबार विज्ञप्ति जारी गर्दै पर्सा जिल्लामा राम नरेश यादवको अध्यक्षतामा रहेको जिल्ला समिति आधिकारिक रहेको जनाएको छ । तर उक्त विज्ञप्ति जारी भएलगत्तै मधेश प्रदेश समितिका उपाध्यक्ष सुशील यादवले समेत अर्को विज्ञप्ति जारी गर्दै मञ्जुर अन्सारीको नेतृत्वमा रहेको जिल्ला समिति आधिकारिक रहेको जनाएका छन् ।

पर्सा जिल्लामा देखिएको विवाद अन्ततः पार्टीको मधेस प्रदेश समितिमा पनि देखिएको छ ।

मुख्यसचिव दिनेश यादवले जारी गरेको विज्ञप्तिमा पर्सा जिल्लामा माघ २ मा केही समूहले मञ्जुर अन्सारीको नेतृत्वमा नयाँ जिल्ला समिति गठन गरेको खबर विभिन्न सञ्चार माध्यमबाट जानकारी प्राप्त भएको भन्दै त्यो पार्टीको आधिकारिक समिति नभएको दाबी गरेका छन् ।

जसपाका प्रदेश उपाध्यक्ष सुशील यादवले पर्सामा देखिएको पार्टीभित्रको विवाद केन्द्रीय समितिले टुंगो लगाउने भएकाले मधेस प्रदेशका मुख्य सचिव दिनेश यादवले व्यक्तिगत रुपमा जारी गरेको विज्ञप्तिको कुनै औचित्य नै नभएको बताएका छन् ।