सानो गल्तिले डुब्यो ग्लोबल आईएमई बैंक १८ करोड

मंगलबार, १८ माघ २०७८

काठमाडौँ – नाम चलेकै व्यापारी हुन् ओमप्रकाश अग्रवाल तथा उनका छोराहरू अमित र अभिषेक । बजारमा मदिरा व्यापारीको परिचय बनाएका बाबुछोरा फरार भएपछि नेपाली जनताको झण्डै ३ अर्ब रुपैयाँ झ्याम भएको छ ।

त्यही तीन अर्बमध्ये ग्लोवल आईएमई बैंकको १८ करोड पनि परेको छ । व्यवसाय विस्तार गर्नका लागि लिएको ऋण तिर्न नसकेपछि विगत दुई हप्तादेखि उनीहरुको परिवारै फरार भएको छ । ऋणीहरुको बारम्बारको किचकिच पछि उनीहरुको परिवारले सामुहिक ‘डिस्अपियरेन्स नोट’लेखेर भारततीर फरार भएका हुन् ।

अग्रवाल परिवारले ग्लोबल आईएमई बैंकबाट १८ करोड रुपैयाँ ऋण लिएको थियो भने नेपाल इन्भेस्टमेन्ट बैंकबाट ३२ करोड, मेगा बैंकबाट २५ करोड, एभरेस्ट बैंकबाट २२ करोड लिएको थियो । तीमध्ये कुनै बैंकले घरजग्गा धितो राखेका थिए, कुनैले पसलमा भएको ‘स्टक’लाई धितो बनाएका थिए।

अग्रवाल परिवारको दरबारमार्ग र कान्तिपथस्थित ‘ग्रिन लाइन सेन्टर प्रालि’मा इन्भेस्टमेन्ट बैंक र एभरेस्ट बैंकले ताला लगाएका छन् । काठमाडौं ज्ञानेश्वरस्थित अग्रवाल परिवारको घरको गेटैमा एभरेस्ट बैंकले धरौटी राखिएको भन्दै पर्चा टाँसेको छ भने घरसँगै जोडिएको खाली जग्गामा ग्लोबल आईएमई बैंकले फ्लेक्स नै टाँगेको छ।

ज्ञानेश्वरमा अग्रवाल परिवारको घरजग्गासँगै २३ आनाको जग्गा छ। काठमाडौं टंगालमा तीनवटा अपार्टमेन्ट छन्। कालीमाटीमा दुईवटा घर छन्। कालिमाटीको घरजग्गा मेगा बैंकले लिलामीमा राखिसकेको छ।

उनीहरूको खोजतलासमा संलग्न एक प्रहरी अधिकृतका अनुसार सबैगरी करिब ५० करोड रुपैयाँको सम्पत्ति अग्रवाल परिवार छोडेर गएको छ। तर, बैंकहरू, सहकारी, साथीभाइ र मिटरब्याजीले करिब तीन अर्ब रुपैयाँ उठाउनु छ । त्यसमा चारवटा बैंकको मात्र ९७ करोड रुपैयाँ छ।

ती प्रहरी अधिकृतका अनुसार यो परिवार केही समयदेखि देश छाडेर फरार हुने योजनामा देखिएको छ। किनकि, ज्ञानेश्वर, कालीमाटी र टंगालका घरजग्गा र अपार्टमेन्ट यो परिवारले बिक्री गरिसकेको थियो। ‘जग्गा बिक्रीका लागि बैना लिएको पाइएको छ। तीनवटामध्ये एउटै अपार्टमेन्टको एक करोड ५२ लाख रुपैयाँ भुक्तानी लिइसकेको देखिन्छ,’ ती अधिकृत भन्छन्।

ज्ञानेश्वरको घरमा बाबु ओमप्रकाश, आमा उषा, छोराहरू अमित र अभिषेक, भारती अग्रवाल, रुचिका अग्रवाल, १७ वर्षीय नातिनी नन्दनी, ९ वर्षीय पार्था र २ वर्षीय अनव अग्रवाल बस्थे, । उनीहरू सबै अहिले लापत्ता छन्।

ओमप्रकाशकी छोरी रजनीको लिखित निवेदनपछि प्रहरी उक्त परिवारको ज्ञानेश्वरस्थित घरमा पुग्यो। घर खानतलासीका क्रममा टेबलमा एउटा ‘डिस्अपियरेन्स नोट’ फेला प¥यो। ओमप्रकाश, उनकी श्रीमती उषा, छोराहरू अमित र अभिषेकसहित पाँचजनाको हस्ताक्षर रहेको नोटमा यस्तो लेखिएको छः

‘म ओमप्रकाश अग्रवाल, श्रीमती उषा अग्रवाल, छोराहरू अमित अग्रवाल र अभिषेक अग्रवाल तथा परिवारका अन्य सदस्यहरूले विगत २५ वर्षदेखि मदिराको व्यापार गरिरहेका थियौँ। तथा, मार्केटमा राम्रोसँग सफलताका साथ व्यापार गरिरहेका थियौँ। विगत वर्षहरूमा कोभिड–१९ले गर्दा बैंक ब्याज तिर्नको लागि तथा अन्य व्यक्तिहरूलाई ब्याज तिर्नको लागि मेरो छोरा अमित अग्रवाल मिटरब्याजीहरूको फन्दामा परी आफ्नो सम्पत्ति सिध्याइसकेका छौँ। धेरैजसो मिटरब्याजीहरूलाई साँवाको दोब्बर तेब्बर पैसा तिरिसकेका छौँ। अब हामीसँग मिटरब्याजी तथा बैंकहरूलाई तिर्न कुनै पनि साधन छैन। ग्रिन लाइन सेन्टरबाट अलि अलि बैंक तथा आसामीहरूलाई ब्याज तिर्दै आएका थियौँ। तर, मिति २०७८–७–२१ मा बैंकहरूले ग्रिन लाइनलाई पनि बन्द गराई ताला लगाइदिएकोले हामीले मिटरब्याजीहरूको धम्की तथा बैंकहरूको असह्य बोझले गर्दा हाम्रो मानसिक अवस्था अस्थिर भएकाले हामीले काठमाडौं छाड्न बाध्य भएका छौँ। र, हामी कहाँ जान्छौँ, बाँचिन्छ वा मरिन्छ भन्ने कुनै ठेगान छैन। बाँचे भने फेरि आउँला। र, हामीले आफ्नो नाममा रहेका घरजग्गा, व्यापार व्यवसाय त्यत्तिकै छोडेर जाँदैछौँ। हाम्रो नाममा रहेका श्रीसम्पत्तिबाट बैंक तथा वित्तीय संस्था तथा साहुले रकम असुलउपर गर्नु होला। तथा, आफ्नो संस्थानका हिसाबकिताब जम्मै यहीँ छोडेर जाँदैछौँ। त्यसबाट साहुहरूको नाम तथा मिटरब्याजीहरूले धम्की दिएर गराएका कागजपत्र तथा तिनीहरूको नाम–नामावली थपपछि एउटा प्रतिष्ठित परिवारलाई आत्महत्या गर्ने अवस्थामा पु¥याउन लगाएका मानिसहरूलाई दण्ड सजाय दिई मेरो परिवारको आत्मालाई शान्ति प्रदान गर्न सरकारसँग माग गर्दछौँ। र, कुनै व्यक्तिलाई ऋण तिर्न नसकिएकोले क्षमाप्रार्थी छु। बाँचेको खण्डमा मेरो सन्तानले ऋण तिर्ने कोशिस गर्नेछ।’

रजनी अग्रवालको निवेदन र यही ‘डिस्अपियरेन्स नोट’लाई आधार बनाएर प्रहरीले उनीहरूको खोजतलास थाल्यो। त्यसक्रममा वीरगञ्जसम्म उनीहरूको मोबाइल ‘ट्रेस’ भयो। उनीहरू वीरगञ्ज हुँदै भारततर्फ लागेको निष्कर्षमा प्रहरी पुगेको छ। र, भारतमा थप खोजतलासको प्रक्रिया अगाडि बढाएको छ।