एमसीसी पास गर्न देउवाले बनाए नयाँ रणनीति, चुनावी गठबन्धन खारेज
काठमाडौं – प्रधानमन्त्री तथा कांग्रेस सभापती शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध चिसिएको छ । देउवा र प्रचण्डले संयुक्त रुपमा एमसीसी बोर्डलाई लेखेको पत्र सार्वजनिक भएपछि उनीहरुको सम्बन्ध चिसिएको हो ।
एमसीसीमा प्रचण्डले असहयोग गर्ने देखिएपछि देउवाले उनलाई बदनाम बनाउन पत्र सार्वजनिब गरिदिएका थिए । उक्त पत्र सार्वजनिक भए लगत्तै प्रचण्डले देउवालाई भेटेका थिए । भेटमा देउवाले एमसीसीमा सहमति गर्न आग्रह गरेका थिए ।
जवाफमा प्रचण्डले संशोधन विना एमसीसी पास गर्न सम्भव नभएको बताएका थिए । प्रचण्डले यस्तो अभिव्यक्ति दिएपछि प्रधानमन्त्री देउवाले चुनावमा गठबन्धन पनि सम्भव नभएको बताउँदै गठबन्धन पनि तोडिएको घोषणा गरेका थिए ।
प्रधानमन्त्री देउवासहित संयुक्त पत्र लेखेर एमसीसी पारित गर्ने वचन दिएका दाहाल पछि हटेपछि देउवा आक्रामक बनेका हुन् । एमसीसीमा पार्टीभित्र सहमति जुटाउन नसकेका प्रचण्डले चुनावमा घट्दो जनमतलाई थप क्षति हुन नदिन पछि हटेका थिए ।
एमसीसीले पत्र सार्वजनिक गरेलगत्तै प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसमेतलाई साथमा लिएर चुनावको बाटो तय गरेका हुन् । त्यतिमात्र होइन प्रधानमन्त्रीले सत्तारुढ प्रमुख घटक माधवकुमार नेपाललाई समेत बेवास्ता गरिदिएका छन् ।
दाहाल र एमालेबाट सानो समूहसहित अलग भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक वर्षपछि चुनाव सार्न दिएको दबाब देउवाले अस्वीकार गरेका छन् ।
‘देउवाको ‘मुभ’बाट स्पष्ट चित्र देखिएको छ कि नेपाली कांग्रेस सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीसँग चुनावी सहकार्य गर्न अनिच्छुक छ । देउवाले चुनावी गठबन्धन खारेज गरेका छन् ।’ नेपाली कांग्रेसका एक नेताले भने ।
दाहाल र नेपालले तीन महिनाअघि नै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग चुनाव सार्न प्रस्ताव गरेका थिए । तर, विद्यमान कानूनले एक दिन पनि स्थानीय तहमा जनप्रतिनिधि रिक्त हुन नदिएकाले थपलियाले मानेका थिएनन् ।
प्रधानमन्त्री देउवालाई जसोतसो मनाए पनि प्रमुख विपक्षी दल नेकपा एमालेको दबाब, स्वयं नेपाली कांग्रेसका नेताहरुको चुनावप्रतिको अडानले दाहाल र नेपालको केही चलेन एकीकृत समाजवादी अध्यक्ष नेपालले त अर्को वर्षको फागुनसम्म चुनाव धकेलिने सार्वजनिक कार्यक्रममै भनेका थिए ।
२०७४ को स्थानीय चुनावमा प्रचण्डपुत्री रेणु दाहाललाई जिताउन त्याग गरेका प्रधानमन्त्री देउवा पुनः त्यही असजस दोहो¥याउने मुडमा देखिदैनन् । त्यसमाथि सभापतिका निटकतम् प्रतिद्वन्द्वी शेखर कोइराला, जोडी महामन्त्रीदेखि कांग्रेसका नेताहरु एकल प्रतिस्पर्धाको पक्षमा छन् ।
एमसीसी प्रकरणले धरमराएको सत्ता गठबन्धनको आगामी यात्राको स्पष्ट चित्र केही सातामै देखिने राजनीतिक विश्लेषकहरुको भनाइ छ ।