क्रिप्टोकरेन्सीबारे फेरी बोल्यो नेपाल राष्ट्र बैंक, यस्तो रहेछ सम्पत्ति स्वाह पार्ने भित्री धन्दा

मंगलबार, २५ माघ २०७८

काठमाडौं – क्रिप्टोकरेन्सीबो नेपाल राष्ट्र बैंक फेरी बोलेको छ । मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ अन्तर्गतका कारोबारबाट राज्य तथा अर्थव्यवस्थामा चुनौती थपिएको भन्दै यस्तो कारोबार नगर्न सबैलाई आग्रह गरेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार जनचेतनामुलक सामग्री प्रकाशित गर्दै क्रिप्टोकरेन्सीको बढ्दो प्रयोगबाट समस्त वित्तीय स्थायित्वमा नै असर गर्ने बताएको छ ।

राष्ट्र बैंकले भनेको छ, ‘आईएमएफले अक्टोबर २०२१ मा जारी गरेको ग्लोबल फाइनन्सियल स्टाबिलिटी रिपोर्टमा क्रिप्टोकरेन्सीलाई विश्वव्यापी वित्तीय स्थायित्वको तीन वटा प्रमुख चुनौतीमध्येको एक भनेर उल्लेख गरेको छ ।’

क्रिप्टोकरेन्सीको प्रयोगबाट अवैधानिक क्रियाकलाप, विशेष गरी ठगी तथा कर छली लगायतका कार्य हुन सक्नेतर्फ राष्ट्र बैंकले सचेत गराएको छ ।

नेटवर्क मार्केटिङको व्यवसायबाट पनि अवैधानिक आर्थिक क्रियाकलाप बढेर जाँदा सरकारी राजस्वमा नकरात्मक असर पर्ने देखिएको राष्ट्रबैंकको उक्त सूचनामा उल्लेख छ ।

राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ अन्तर्गतको कारोबारबाट विशेष गरी वित्तीय ग्राहक सुरक्षा र क्यापिटल मुभमेन्टको नियमनमा चुनौती, वित्तीय स्थायित्व, मौद्रिक नीति तथा विदेशी मुद्राको सञ्चितिमा नकारात्मक असर पर्ने बताएको छ ।

क्रिप्टोकरेन्सी तथा यससँग सम्बन्धित कोषमा लगानी गर्ने तथा नेटवर्क मार्केटिङमा आवद्ध हुने जस्ता क्रियाकलापमा युवा जनशक्ति आकषिर्त हुन सक्ने भएकोले युवा अवस्थामै अवैधानिक आर्थिक क्रियाकलापमा संलग्न हुँदा व्यक्तिगत जीवन र मुलुकको आर्थिक सामाजिक अवस्थामा समेत नकारात्मक असर पर्ने राष्ट्र बैंकको भनाइ छ ।

‘स्वदेश तथा विदेशमा रहेका नेपालीहरू पनि यसको कारोबार वा यससँग सम्बन्धित लगानीमा संलग्न रहेको भन्ने सूचना प्राप्त भएको छ,’ राष्ट्र बैंकले भनेको छ,’यसैगरी, विदेशबाट सञ्चालित पिरामिडमा आधारित नेटवर्क मार्केटिङ व्यवसाय पनि नेपालमा सक्रिय रहेको विषय पनि सञ्चार माध्यममा आएको छ ।’

छोटो अवधिमा उच्च प्रतिफल आउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी र नेटवर्क मार्केटिङ व्यवसायमा आबद्ध हुँदा लगानी डुब्ने उच्च जोखिम हुने राष्ट्र बैंकले बताएको छ ।

‘कानुनी झन्झट आउन सक्ने भएकोले यस्ता कारोबार तथा व्यवसायमा संलग्न नहुन स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई सचेत हुन यस बैंकले समय समयमा सूचना प्रकाशन गरी आहृवान गर्दै आएको छ,’ सूचनामा भनिएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्