थापा पछि राप्रपा पार्टि छाड्नेको लाग्यो लर्काे
- कमल थापाले पार्टि छाडेपछि राप्रपामा पार्टि छाड्ने लर्काे नै लागेको छ । राप्रपाका पूराना नेता चन्द्र गुरुङले राप्रपा त्यागेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले राप्रपा परित्याग गरेको घोषणा गरेका छन् ।
गुरुङलले लेखेका छन्, ‘राप्रपामा बस्दाको पल सदैव अविस्मरणीय रहनेछ । आजैदेखि राप्रपासँगको संलग्नतालाई अन्त्य गर्दछु । सबैलाई शुभकामनासहित धन्यवाद व्यक्त गर्दछु ।
सबैको जय होस् ।’ हिजोमात्रै पूर्व अध्यक्ष कमल थापाले राप्रपा त्यागेको घोषणा गरेका थिए । थापानिकट मानिएका गुरुङले पनि त्यसको भोलिपल्टै आफू्रले पनि राप्रपा त्यागेको घोषणा गरेका छन् ।
थापाले भने आफ्नै नेतृत्वमा नयाँ दल दर्ताको तयारी गरेका छन् । पार्टीको नाम के राख्ने भन्नेबारे थापा आन्तरिक छलफलमा छन् ।
आजैमात्र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेलले पनि पार्टी छाडेका छन् । उनले बुधबार विहान फेसबुकमा स्टाटस लेखेर पार्टीबाट अलग हुने घोषणा गरेका हुन् ।
उनले आफूले राप्रपालाई एकतावद्ध बनाउन धेरै प्रयास गरेको तर असफल भएको उल्लेख गरेका छन् । ‘राप्रपालाई एकतावद्ध बनाउने मेरो भगिरथ प्रयास असफल भएको छ ।
असफल विद्यार्थीको रुपमा अत्यन्तै दुखी र भावुक छु । राप्रपामा बस्दाको पल सदैव अविष्मरणीय रहनेछ, आजैदेखि राप्रपासँगको संलग्नता अन्त्य गरेको छु’ पौडेलले लेखेका छन् ।
राप्रपामा कमल थापा निकट भनेर चिनिएका पौडेल पूर्व कोषाध्यक्ष पनि हुन् । तर गत मंसिरमा भएको महाधिवेशनमा उनले कुनै पनि पदमा उम्मेदवारी दिएका थिएनन् ।
निवर्तमान अध्यक्ष थापाले पार्टी छाडेको भोलिपल्ट पौडेलले पनि छाडेका हुन् । तर उनले आफूले कमल थापालाई साथ दिने गरी पार्टी नछाडेको अनलाइनखबरलाई बताए ।
‘मैले कुनै दृष्टिकोण बनाएको छैन, उहाँ कमल थापा सँग भेट पनि भएको छैन’ उनले भने ।
पार्टीको विवाद मिलाउन नसकेपछि बसिरहनु उचित नदेखेर छाडेको पौडेलले बताए ।