नेपाली दूतावास रियादद्वारा एकवर्षे कार्यसमीक्षा सार्वजनिक
साउदी – साउदी अरेबियामा रहेको नेपाली दूतावास रियादले एक वर्ष भित्र गरेको आफ्नो कार्य समीक्षा सार्वजनिक गरेको छ ।
साउदी अरबमा कार्यरत नेपालीहरुलाई साउदी श्रम कार्यालय र अध्यागमनबाट अकामा नभएका वा सकिएका अथवा हुरुप लागेकाहरुलाई नेपाली दूतावास रियाको सहयोगमा हालसम्म २ हजार ७ सय ६९ जना नेपालीलाई बहिर्गमन भिजा जारी गरिएको छ भने ३० महिनादेखि दूतावासको सेल्टरमा रहेका हिल चेयर बिरामी बेद बहादुर भुजेलको अस्पतालमा उपचार रहँदा तिर्न बाँकी ८ लाख २३ हजार रियल अस्पतालबाट माफी गराई स्वदेश फिर्ता गराएको छ ।
नेपाली दूतावास रियादले साउदी अरबको लागि कुटनैतिक क्वाटरमा नेपाली राजदूतावासका लागि जग्गा खरिद समेत गरेको छ । साउदीमा कार्यरत नेपाली श्रमिकको हकहितको लागि र कुटनैतिक सम्बन्ध बलियो बनाउनको लागि दुतावासद्वारा गवर्नर मन्त्रालय श्रम कार्यालय गरी हालसम्म २२ वटा उच्चस्तरीय भेटघाट भएका छन् ।
साउदीमा कार्यरत रहँदा मृत्युभएका नेपालीहरूको मृतक परिवारको नाममा हालसम्म दूतावासबाट ३३ लाख ८२ हजार ६ सय ६८ रियाल मृतक परिवारको नाममा पठाइएको छ भने साउदीमा कार्यरत रहँदा मृत्युभएका २ सय ४ जना नेपाली कामदारको ब्लडमनी सम्बन्धित मुद्दाहरू अदालतमा दायर गरी आवश्यक सहयोग गर्दै आएको र अदालतमा दायर तथा सुनुवाई भएका मध्ये ३७ जनाको फैसला भइसकेको छ भने २४ वटा फैसलाबाट १३ लाख ८६ हजार ५ सय रियल समेत प्राप्त गरि मृतकको परिवारको नाममा पठाएको छ ।
साउदीमा कार्यरत रहँदा विभिन्न दुर्घटनामा परेर निधन भएका २ सय २४ नेपालीमध्ये १ सय १८ जनाको शव स्वदेश पठाएको छ भने बाँकी ३५ जनाको साउदीमा नै अन्तिम संस्कार गरिएको छ ।
साउदीमा कार्यरत रहँदा विभिन्न स्थानबाट उद्धार गरी राजदूतावास सेल्टरमा लामो समय राखेर विभिन्न प्रक्रिया पूरा गरी ३० महिलालाई स्वदेश फिर्ता गरिनुको साथै राजदूतावास र घरफिर्ती केन्द्रको सहयोगमा विभिन्न घरफिर्ती केन्द्रमा रहेका नेपालीलाई आवश्यकता अनुसार सहयोग गरी हालसम्म १ हजार १ सय ८६ जनालाई स्वदेश फिर्ता गरिएको छ ।
श्रमिक समस्या समाधानतर्फ समयमा तलब नदिएका अकामा नबनाएका आदि विभिन्न समस्याहरुको आधारमा ६ सय २५ केस दर्ता गरि सम्बन्धित कम्पनीसँग समन्वय गरी पिडित नेपालीलाई राहात दिलाइएको छ भने मनोवैज्ञानिक एवं अन्य परामर्श द्वारा स्वास्थ्य सेवा सुविधा मार्फत ३ हजार ६ सय नेपालीले सेवा सुविधा प्राप्त गरेका छन् ।
साउदीका लागि करिव एक वर्षको अवधिमा १३ हजार माग पत्रको प्रकिया सुरु गरी ११ हजारभन्दा बढी मागपत्र प्रस्तुत गरिनुको साथै विभिन्न मितिका मागपत्र बाट साउदी अरब आएका नेपालीहरुको विवरण पठाउन ३ सय भन्दा बढी रोजगारदाता र ३ सयभन्दा बढी मेनपावर कम्पनीलाई इमेल द्वारा जानकारी गराईएको छ ।
दूतावासले कोराना संक्रमणको चरम महामारीको बेला साउदीमा रहेको गैरआवासीय नेपाली संघ तथा विभिन्न सामाजिक संस्थाको सहयोगमा साउदीको दमाम र रियादमा सञ्चालन ल्याएको सेल्टर मा एक वर्षको अवधिमा ३ सय ५० भन्दा बढी कामदारलाई खाना बस्नको व्यवस्था गरी अधिकांश नेपालीलाई बर्हिगमन भिसा उपलब्ध गराई स्वदेश पठाएको छ ।
दूतावास रियादले साउदीका विभिन्न अस्पतालमा बिरामी परेका १८ जना नेपालीलाई भेटगरी थप सहयोगको लागि सम्बन्धित कम्पनी र अस्पताललाई अनुरोध गरी स्वदेशको फिर्तामा समेत सहयोग गरेको छ ।
दूतावासद्वारा हालसम्म १२ हजार १ सय ५१ जना नेपालीको राहदानी नवीकरण गरिनुको साथै १ हजार १ सय ३ जनाको निजी कामदार पूर्ण फिर्ताको लागि सिफारिस गरेको छ भने साउदीको विभिन्न स्थानमा कन्सुलर राजधानी तथा सचेतना कार्यक्रम समेत आयोजना गरिएको छ ।
दूतावाससँग द्वारा सञ्चालित यहां क्यापबाट करिब १८ हजार नेपाली कामदार लाभान्वित भएका छन् भने यो सेवाबाट कामदारको यातायात सुविधा,खाना आदी बापत् अनुमानित ४५ लाख साउदी रियल बचत भएको दूतावासले जनाएको छ । कामदारबाट आफ्ना समस्या लगायत विभिन्न विषयमा करिब ११ हजार वाड्सअफ सन्देश र ७२ हजार टेलिफोन प्राप्त गर्नुको साथै दूतावासको साइट र फेसबुकबाट हालसम्म १ सय ३८ वटा विभिन्न आधिकारिक सूचनाहरु पोस्ट गरिएको छ ।
खाडी मुलुकमा रहेका नेपालीदूतावासले मध्ये साउदी अरब पहिलो दूतावासको वनेको छ जसले १ वर्षमा गरेका कार्यहरु सार्वजनिक गरेको छ भने अन्य खाडी मुलुकमा रहेका दुतावासले पनि यस्तै कार्यहरू सार्वजनिक गर्नुपर्ने देखिन्छ ।